काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले मंसिर १० देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।
कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउन १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको शेयरमध्ये पनि २७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ६८ हजार ७५० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ११ लाख ४१ हजार २५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
सार्वजनिक निष्कासनमा आएको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । यो आईपीओ छिटोमा मङ्सिर १३ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा मङ्सिर २४ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमा नै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधि मङ्सिर १३ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग लिमिटेडले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यस कम्पनीले प्रदान गर्ने सेवाहरू सेवा उद्योगभित्रका हुन् । कृषकलगायत ग्राहकहरूले भण्डारण गर्नका लागि ल्याएका अन्नको गुणस्तर ह्रास हुन नदिई अन्नलाई वैज्ञानिक ढंगले भण्डारण गरी अन्नको प्रयोग अवधिलाई लम्ब्याउने कार्य सहितको सेवा यस कम्पनीले प्रदान गर्ने गर्दछ । सो कार्य प्रदान गरेबापत कृषकलगायत ग्राहकहरूबाट कम्पनीले भाडा प्राप्त गर्नेछ ।
हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ५५ करोड रुपैयाँ छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ कायम हुनेछ । कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी आर्थिक वर्ष ०७८/७९ सम्म ३ करोड ७ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ७ रुपैयाँ २८ पैसा प्रतिशेयर नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ८६ पैसा छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्