चितवन । चितवनमा पर्यटकको आगमन बृद्धि सँगै अहिले भरतपुर विमानस्थलमा यात्रुहरुको चाप अत्यधिक बढेको छ । चाडबाडसँगै पर्यटकीय सिजन शुरु भएकोले यात्रुहरुको चाप बढेको हो । यसअघि भरतपुर विमानस्थलबाट १० ओटा काठमाडौं र एउटा पोखराको लागि उडान हुँदै आएपनि अहिले बुद्ध एयरले काठमाडौ जाने एउटा जहाज घटाएको छ ।
यसअघिका बर्षहरुमा सबैभन्दा बढी चाप दशैंमा हुने भएतापनि यो बर्ष तिहारको समयमा भएको बढी चाप भएको बुद्ध एयरका प्रबन्धक भक्त बहादुर बस्नेत बताउँछन । ‘अरुबेला पनि सिटहरु प्याकनै हुन्थे उनले भने, अहिले त दशैंमा भन्दा बढी तिहारमा चाप बढेको देखियो ।’
आउने जाने दुबै तर्फको टिकट करीब एक हप्ताको लागि बुकिङ्ग भएको उनले जानकारी दिए । ‘अहिले जाडो याममा चाडैं राती हुने भएकोले एउटा फ्लाईट पनि घटेको छ । अर्कोकुरा पर्यटक र बैदेशिक रोजगारीमा जानेले उत्तिकै टिकट काटेका छन ।’ बस्नेतले भने । चाडबाड मनाएर काठमाडौं फर्किने र बिदेशका लागि काठमाडौं जाने यात्रुका कारण पनि चाप बढेको बस्नेतको भनाई छ ।
भरतपुर विमानस्थल अघि रहेको भिजीट अगेन ट्राभल एजेन्सीका सञ्चालक कपिल घिमिरे अबको ४ दिनसम्म भरतपुर –काठमाडौं टिकट प्याक भएको बताउँछन । ‘उताबाट आउने भन्दा काठमाडौं जाने र फर्केनको बढी चाप छ , उनले भने, आउने टिकट त फाट्ट फुट्ट पाईन्छ ।’ दशैंमा भन्दा पनि बढी तिहारको समयमा यात्रुको चाप बढी भएको उनको भनाई छ ।
काठमाडौंबाट भरतपुर तिहार मनाउन आएकी विद्या शर्मा आचार्य आउँदा टिकट मुश्किलले पाएपनि जाँदा भने नपाएको बताउँछिन । ‘आउँदा २, ३ दिन अघिनै बुकिङ्ग गरेर बल्ल बल्ल आएको हो , उनले भनिन, जाँदा त केही गरेपनि पाउन सकिन ।’ टिकट पाउन नसकेपछि गाडीबाट जाने तयारी गरेको उनले बताईन ।
बिमानस्थलका प्रमुख दिपक बिक चितवनमा यो समय सधैजसो यात्रुको चाप बढ्ने बताउँछन । ‘प्राय यो चाप बढ्ने बेलानै हो, तर अहिले नपत्याउांदोगरी भीड छ ।’ उनले भने । यो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि मौसम राम्रो र घुम्न रमाईलो हुने गरेका कारण चाप बढेको उनले बताए ।
हाल भरतपुरबाट ९ ओटा बुद्ध एयरका ४७ सिटे जहाज काठमाडौंका लागि उडान भर्ने गर्दछन भने एउटा जहाज पोखराको लागि उड्ने गर्दछ ।