अर्जेन्टिना । आर्थिक संकटको सामना गरिरहेको अर्जेन्टिनाको राष्ट्रपतिमा ला लिबर्टाड अवान्जाका पार्टीका दक्षिणपन्थी नेता जेवियर माइली विजयी भएका छन् । अर्जेन्टिनाका वित्तमन्त्रीसमेत रहेका पेरोनिस्ट मुभमेन्टका नेता सर्जियो मस्सालाई पराजित गर्दै मिलेई राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
राष्ट्रपति चुनावका लागि खसेको ९५ प्रतिशत मतमा माइलीले ५५.८ प्रतिशत मत पाएका छन् भने मस्साले ४४.२ प्रतिशत मत पाएका छन् । अर्जेन्टिनामा पछिल्लो २० वर्षमा १६ वर्ष मस्साको दलले शासन गरेको थियो ।
चुनावी परिणाम सार्वजनिक भएसँगै मस्साले आफ्नो हार स्वीकार गरेका छन् । उनले हारपछि देशका जनताले अलग बाटो चुनेको प्रतिक्रिया दिएका छन् । साथै उनले माइलीलाई निर्वाचन जितेकोमा बधाई दिएका छन् ।
जितपछि ब्यूनस आयर्समा समर्थकहरूलाई भाषण गर्दै मिलेईले अर्जेन्टिनाको पुन:निर्माण शुरु भएको घोषणा गरेका छन् ।
माइलीले चुनावअघि गरेका प्रतिवद्धताका कारण उनले जितेको राजनीतिक विश्लेषकले बताएका छन् । बढ्दो गरिबीका कारण सरकारप्रति तीव्र असन्तुष्ट भएका जनताले मत दिँदा उनले जित हासिल गरेको विश्लेषकको भनाइ छ ।
माइलीले चुनाव प्रचारका क्रममा देशको केन्द्रीय बैंक खारेज गर्ने, अमेरिकी डलरलाई देशको मुद्रा बनाउनेलगायत देशको आर्थिक संरचनामा आमुल परिवर्तन गर्ने प्रतिवद्धता गरेका थिए । साथै उनले देशमा व्याप्त भ्रष्टाचार, गरिबी हटाउने प्रतिवद्धता पनि गरेका थिए ।
स्थानीय राजनीतिक कन्सल्टिङ फर्म सिनोप्सिसका प्रमुख लुकास रोमेरोले माइलीको जितप्रति भनेका छन्, ‘यो जित माइलीको विशेषताको कारण कम र अर्जेन्टिनाको बदलावको मागको कारण धेरै हो । यो चुनाव परिणाम अर्जेन्टिनाका अधिकतर मानिसको निराशाको प्रतीक हो ।’
अर्जेन्टिनामा अहिले मुद्रास्फीति १४० प्रतिशतभन्दा माथि पुगेको छ । बढ्दो महँगीका कारण देशमा गरिबी बढिरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार देशको ४० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन् ।
माइलीले जनतामाझ विभिन्न प्रतिवद्धता गरे पनि यसको कार्यान्वयन सहज भने छैन । उनले ल्याएका योजना कार्यान्वयनका लागि संसदले पास गर्नुपर्ने हुन्छ । तर, संसदमा उनको दल अल्पमतमा छ । संसदमा उनको योजना कार्यान्वयनका लागि बहुमतमा रहेको मस्साको दलको सहयोग चाहिन्छ । यस्तोमा उनले चुनावमा जनतामाझ गरेका प्रतिवद्धता कार्यान्वयन होलान् कि नहोलान् ? त्यो भने हेर्न बाँकी छ । एजेन्सीको सहयोगमा