काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वाणिज्य बैंकहरूमध्ये हालसम्ममा ९ ओटा बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सिटीजन्स बैंक र सानिमा बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
यीमध्ये पाँच ओटा वाणिज्य बैंकले दशैंअघि नै साधारण सभा सम्पन्न गरेर नगद लाभांश खातामा पठाइसकेका छन् भने केहीले साधारण सभाको मिति तय गरेका छन् ।
नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले उक्त लाभांश पारितका लागि मङ्सिर २४ गते साधारण सभा बोलाएको छ । त्यसैगरी सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश प्रस्ताव पारितका लागि भोलि (मंसिर ५ गते) साधारण सभा बोलाएको छ ।
कुन बैंककाे कति ?
लाभांश घोषणा गरेका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकले कुल ३० दशमलव ५२ प्रतिशत लाभांश दिएको छ । बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १० दशलमव ५३ प्रतिशत नगद लाभांश, सानिमा बैंकले ९ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ६० प्रतिशत, माछापुच्छ्रे बैंकको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश र सिटिजन्स बैंकले ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेका छन् ।
हाल २० ओटा वाणिज्य बैंक सञ्चालनमा छन् । राष्ट्रिय वाणिज्य बैंकबाहेक अब १० बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।