काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आईपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस्तै ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको छ ।
योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको छ । जस अनुसार २ लाख ७ हजार ५ सय २८ जना आवेदकले कम्पनीको शेयर पाएका छन् । यीमध्ये ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले कात्तिक १६ देखि २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।