काठमाडौं । मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यस दिन परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशलमव २८ प्रतिशत घटेर १ हजार ८२९ दशमलव ६५ विन्दुमा झरेको हो ।
लगानीकर्ताहरू तिहार र छठको बिदापछि खुलेको बजार सकारात्मक हुने अपेक्षामा थिए । सोमवार बजार सामान्य अंक बढे पनि मंगलवार पुन: दोहोरो अंकले घट्यो ।
पछिल्लो समय ब्याजदर पनि घट्दो छ भने अर्थतन्त्रका सूचकमा पनि क्रमश: सुधार हुँदै गएको छ । तर, शेयर बजारमा लगानीकर्ता सक्रिय हुन छाडेका छन् ।
सूचीकृत कम्पनीहरूले पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिहेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार धेरैजसो कम्पनीहरूको नाफा घटेको छ भने कतिपय नोक्सानीमा छन् । यस कारण पनि लगानीकर्ता सकारात्मक नभएको जानकारहरू बताउँछन् ।
पछिल्लो समय देशमा देखिएको राजनीतिक अस्थिरताको दबाबमा बजार परेको हुन सक्ने उनीहरूको अनुमान छ । यही मङ्सिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा जनप्रदर्शन घोषणा गरेका छन् । त्यस्तै सोही दिन नेकपा एमालेको भातृ संगठन युवा संघले आन्दोलनको कार्यक्रम तय गरेको छ । यसले गर्दा पनि पछिल्लो समय बजारमा देखिएका सकारात्मक गतिविधिहरू ओझेल परेकाे हुनसक्ने जानकारहरूको भनाइ छ ।
मंगलवार २८५ धितोपत्रको ३६ लाख ७५ हजार १०१ कित्ता शेयर ३७ हजार ६०७ पटकमा रू. ९५ करोड ४ लाख बराबरको शेयर कारोबार भएको छ । सोमवार रू. १ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव २५ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव २६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३० प्रतिशत घटेको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव १३ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २३१ दशमलव ४० पुगेको हो ।
सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ४६ प्रतिशत बढेर रू. ९९४ पुगेको छ ।
मंगलवार सबैभन्दा बढी माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २३३ दशमलव ८० मा झरेको छ । त्यस्तै महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ दशमलव ४६ प्रतिशत घटेर रू. १ हजार ५६८ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन डिष्टीलरीले ओगटेको छ । कम्पनीको रू. ७ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१ हजार ६२२ दशमलव ५० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू. ४ करोड ३९ लाख बराबरको भएको हो ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ४२ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ दशमलव १२ प्रतिशत घटेको छ । त्यस्तै दोस्रोमा होटल तथा पर्यटन समूहको परिसूचक २ दशमलव ६२ प्रतिशत घटेको छ ।