जुम्ला । यहाँका स्याउ बगैंचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैंचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् ।
तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैंचा फूलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताए । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
जिल्लैभरका स्याउका बगैंचा सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको छ । चैत–वैशाख स्याउका बोटमा फूल लाग्ने याम हो । यो स्याउ भदौसम्म पाकिसक्छ ।
तिला–१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैंचा समूहका सचिव गोरीकला बुढाले बगैंचालाई आवश्यक मलको उचित प्रयोगदेखि सिँचाइ व्यवस्थापनमा किसान लागेको बताए । सामूहिकरूपमा स्याउ बगैंचा गर्दा सम्बन्धित निकायबाट अनुदान लिन सहज भएको उनको भनाइ छ ।
पातिहल्ला स्याउ बगैंचामा करीब चार हजार स्याउका बिरुवा छन् । अहिलेसम्म दुई हजार बिरुवाले फल दिन थालिसकेका छन् भने एक वर्षभित्र सबै बिरुवाले फल दिने समूहका सचिव रावतको भनाइ छ । जुम्लाका विभिन्न पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ ।
माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैंचामा अधिकांश किसान सिँचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यस वर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ ।
जिल्लाका १८ हजार घरधुरीमध्ये करीब १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ ।
कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको बताए । रासस