बुढीगण्डकी जलविद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरणले छनोट गरेका ६ ओटै विदेशी संस्थाले प्रस्ताव पेश गरेका छन् । प्राधिकरणको आयोजना विकास विभागका लीलानाथ भट्टराईका अनुसार छानिएका सबै परामर्शदाताबाट विस्तृत प्रस्ताव आएका छन् । प्रस्ताव पेश गर्ने अन्तिम म्याद वैशाख ४ गतेसम्म थियो । उनले भने, ‘आएका प्रस्तावमध्ये प्राविधिक र आर्थिक रूपमा उपयुक्त प्रस्ताव पेश गर्ने कम्पनी छनोट गरिने छ ।’ भट्टराईका अनुसार उपयुक्त प्राविधिक प्रस्ताव भएका कम्पनीको आर्थिक प्रस्तावमात्र हेरिनेछ ।
उपयुक्त प्राविधिक प्रस्ताव ठहरिनका लागि कुल अंककोे ७० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरिएको प्राधिकरणले बताएको छ । यसैगरी दुवै प्रस्ताव उपयुक्त ठहरिएका कम्पनीमध्ये सबैभन्दा कम रकम राख्नेको आर्थिक प्रस्ताव पारित गरिने प्राधिकरणका एक उच्च कर्मचारीले बताए । छनोट भएका सबै कम्पनीलाई प्राधिकरणले विस्तृत प्रस्ताव पठाउनका लागि ५६ दिनको म्याद दिएको थियो । प्राधिकरणले प्रस्ताव मूल्यांकनका लागि प्राधिकरणकै इञ्जिनीयरिङ विभागका महाप्रबन्धक उपेन्द्रदेव भट्टको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरेको छ ।
वर्ष ६, अंक २१३, मंगलवार, ५ वैशाख, २०६९