नेपालमा कर तिर्नका लागि बढी समय र खर्च लाग्ने रिपोर्ट सार्वजनिक भएको छ । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले गरेको ‘ट्याक्स कम्प्लायन्स कष्ट सर्वे’ ले औसतमा एक व्यवसायीले कर तिर्दा रू. ९ हजार ३ सय र भ्याट, आयकर र स्रोतमा आयकर तिर्नेले रू. ४६ हजार ३ सय अतिरिक्त खर्च गर्नुपर्ने देखाएको छ । विश्वका विकसित मुलुकका तुलनामा यो झण्डै चार गुणा बढी हो । यसबाहेक कर प्रशासनभित्रका अघोषित विभिन्न बाधा अड्चनका कारणले पनि नेपालका व्यवसायीहरूमा कर तिर्ने जागरुकता अत्यन्त कम देखिएको छ ।
यूरोपियन मुलुक र नेपालको तुलना गर्ने हो भने कर तिर्दा लाग्ने खर्च र समयमा धेरै अन्तर देखिन्छ । युरोपियन मुलुकको एउटा व्यवसायीले कर तिर्नका लागि कर कार्यालयमा वार्षिक १५ पटक गए पुग्छ । त्यसक्रममा करदाताको १ सय ८३ घण्टा समय लाग्ने हुन्छ । तर, नेपालमा एउटा व्यवसायीले कर तिर्न ४७ पटक कर कार्यालय धाउनुपर्छ । त्यसक्रममा उसको ४ सय ८ घण्टा समय खर्च हुन्छ ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक २१४, बुधवार, ६ वैशाख, २०६९