काठमाडौं । चुक्तापूँजी वृद्धि गर्ने समय सकिन लाग्दा पनि अधिकांश ब्रोकर कम्पनीले पूँजी वृद्धिको प्रयास नगर्दा नेपाल धितोपत्र बोर्डले मर्जरको बाटो खोल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले २०७९ भदौ २९ गते धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ पाँचौंपटक संशोधन गर्दै ब्रोकर कम्पनीले कामको सीमाको आधारमा २० करोड रुपैयाँदेखि १ अर्ब ५० करोड रुपैयाँसम्म चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
नयाँ खुलेका ब्रोकर कम्पनीहरू चुक्तापूँजीसम्बन्धी नयाँ प्रावधानअनुसार दर्ता भए पनि पुराना ब्रोकरका लागि २०८२ असार मसान्तसम्म नयाँ व्यवस्थाअनुसार चुक्तापूँजी पुर्याउन निर्देशन दिइएको थियो । तर, कुनै पनि पुराना ब्रोकरले पूँजी वृद्धिको प्रयास नगर्दा धितोपत्र बोर्डले मर्जरसम्बन्धी मार्गदर्शन ल्याउन लागेको हो ।
- कामको सीमाको आधारमा २० करोड रुपैयाँदेखि १ अर्ब ५० करोड रुपैयाँसम्म चुक्तापूँजी पुर्याउनुपर्ने
- २०८२ असार मसान्तसम्म बढाइएको चुक्तापूँजी पुर्याउनुपर्ने
- पूँजी वृद्धिको समयसीमा २०८४ असार मसान्तसम्म थप्न आग्रह
‘बोर्डले ब्रोकर कम्पनीहरूलाई पनि मर्जर र प्राप्ति प्रक्रियामा जानका लागि निर्देशिका बनाइरहेको छ,’ बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले आर्थिक अभियानसँग भने, ‘निर्देशिका अन्तिम चरणमा पुगेको छ ।’
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को पाँचौं संशोधनमा धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने/गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्ने व्यवस्था गरेको छ ।
नियमावलीको सोही प्रावधानमा टेकेर बोर्डले निर्देशिका तयार पारेको हो । ‘तोकेबमोजिम आगामी असार मसान्तसम्म न्यूनतम चुक्तापूँजी कायम नगर्ने ब्रोकरहरूलाई मर्जर तथा प्राप्तिमा जानका लागि निर्देशिकाले सहयोग गर्ने विश्वास छ,’ घिमिरेले भने ।
हालसम्म तोकेअनुसार पूँजी पुर्याउन बाँकी कम्पनीलाई पूँजी वृद्धिको योजना पेश गर्नसमेत बोर्डले पत्राचार गरिसकेको घिमिरेले जानकारी दिए । संशोधित धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ अनुसार पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका रूपमा काम गर्न न्यूनतम २० करोड रुपैयाँ चुक्तापूँजी हुनुपर्छ ।
शेयर खरीदविक्रीसँगै डिपोजिटरी पार्टिसिपेन्ट (डीपी)का रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरका लागि न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ तोकिएको छ ।
स्टक डिलरका रूपमा काम गर्न १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी हुनुपर्ने व्यवस्था गरिएको छ । नयाँ ४२ ब्रोकर कम्पनीले बोर्डले तोकेबमोजिमको पूँजी कायम गरी अनुपतिपत्र लिएका छन् । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको पाँचौं संशोधनअघि सीमित कार्य गर्ने ब्रोकरको हकमा २ करोड र मार्जिन कारोबार सुविधा प्रदान गर्ने ब्रोकरका हकमा न्यूनतम ५ करोड चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था थियो ।
सोही व्यवस्थाअनुसार दर्ता भएका ब्रोकर कम्पनीहरूलाई पूँजी वृद्धि गर्न बोर्डले २०८२ असार मसान्तसम्म समय दिएको छ । तर, पुराना ब्रोकरहरू मर्जर निर्देशिका आउँदा पूँजी बढाउने एउटा बाटो खुल्ने भए पनि मर्जर नगरी पूँजी बढाउन थप समय दिनुपर्ने बताउँछन् ।
सीमित कारोबारका लागि १० गुणा पूँजी गरी २० करोड रुपैयाँ पुर्याउन र मार्जिन ट्रेडिङसहितको सेवा दिन चुक्तापूँजी १२ गुणा वृद्धि गरी ६० करोड पुर्याउन दिइएको म्याद अति छोटो भएकाले अव्यावहारिक भएको उनीहरूको भनाइ छ ।
‘मर्जर निर्देशिका पनि आओस् र पूँजी बढाउने म्याद पनि थपियोस्,’ स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटाले भने, ‘बोर्डले नियमावली संशोधन गरेयताको २२ महीनामा १२ गुणासम्म पूँजी बढाउन असम्भव छ ।’ २०५० सालदेखि धितोपत्र बजारमा पुराना ब्रोकर कम्पनीहरूले गरेको योगदानलाई कदर गर्दै नियामक निकायले पूँजी वृद्धिको समयसीमा बढाएर सहुलियत प्रदान गर्नुपर्ने उनको तर्क छ । पूँजी वृद्धिका लागि २०८४ असार मसान्तसम्म समय दिँदा उपयुक्त हुने र त्यति समय थप भए कम्पनीहरूले नयाँ शेयरहोल्डर थपेर पूँजी कायम गर्न सक्ने सापकोटाले बताए ।
हाल धितोपत्र कारोबारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने दुई स्टक डिलरसहित ९२ ब्रोकर कम्पनी सञ्चालनमा छन् । नागरिक स्टक डिलर कम्पनीको चुक्तापूँजी ३ अर्ब ७३ करोड ९७ लाख ५० हजार रुपैयाँ छ । अर्को नबिल स्टक डिलरको चुक्तापूँजी १ अर्ब ५२ करोड रुपैयाँ छ ।
यीबाहेक ६० करोड चुक्तापूँजी कायम गरी दोस्रो तहको ब्रोकर व्यवसाय कम्पनी सञ्चालन गर्नेमा ३३ नम्बरको पुरानो ब्रोकर कम्पनी सनी सेक्युरिटिज, ६६ नम्बर ब्रोकर कम्पनी एआईएमबी स्टक मार्केट र ८७ नम्बर ब्रोकर कम्पनी हिमालयन सेक्युरिटिज लिमिटेड रहेका छन् ।
यीबाहेक सबै कम्पनी पहिलो तहको सीमित कार्य गर्ने ब्रोकर कम्पनीका रूपमा सञ्चालनमा छन् । पुराना कम्पनीमध्ये ११ कम्पनीको चुक्तापूँजी न्यूनतम २० करोड रुपैयाँ कायम भइसकेको छ । बोर्डले २०८२ असार मसान्तसम्म सबै ब्रोकर कम्पनीलाई न्यूनतम २० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्न भनेको छ ।