काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनको टुंगो लागेको छ ।
उक्त आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेसँगै लगानीको टुंगो लागेको हो ।
गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मस्र्याङदी नदीमा निर्माण हुने उक्त आयोजनामा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र सिद्धार्थ बैक लिमिटेडले संयुक्त लगानी गर्ने भएका छन् ।
एम. ए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा ऋण सम्झौता गरिएको हो ।
हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैक तथा वित्तीय संस्थाहरूले पनि लगानी गर्ने बताइएको छ ।
निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ ।
प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारी बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अर्ब, सिद्धार्थ बैंकले २ अर्ब र कृषि विकास बैंकले १.५ अर्ब रुपैयाँ लगानी गर्नेछन् । आयोजनामा स्वपुँजी लगानी अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ ।
डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पूर्व आवश्यक ‘ड्यु डिलिजेन्स स्टडी’ अगाडि बढाएको कम्पनीले जानकारी दिएको छ ।
यही समूहबाट हाल २२ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ ।
आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० कात्तिक १ गते विद्युत खरीद विक्री सम्झौता सम्पन्न भएको थियो, जसअनुसार आयोजनाले २०८६ वैशाख २२ गते व्यापारिक उत्पादन शुरु गर्नुपर्ने छ । आयोजनाको प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सलटेन्स प्रालि छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्कासम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश भएको कम्पनीले जानकारी दिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभीमा जोडिने छ ।