काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड यस वर्ष खुद नाफामा गएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी ६८ लाख २८ हजार रुपैयाँ खुद नाफामा रहेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ७६ लाख ६६ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो ।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी बढेकाले नोक्सानीमा सुधार भएको हो । गत वर्ष ४३ लाख ३३ हजार रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष २ करोड ७६ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको हो ।
यस कम्पनीले ८० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा २०८० माघ २४ गते आवेदन दिएको छ । हाल कम्पनीको चुक्तापूँजी ३ करोड ४६ लाख ५० हजार रुपैयाँ छ । रिटर्न अर्निङ ५९ लाख ६५ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम २ करोड ५७ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीले ९ करोड ७८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ५० करोड ५२ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
यस अवधिसम्म कम्पनीले ६३ करोड ५ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ५ दशमलव ६५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ७ दशमलव १५ प्रतिशत कायम भएको छ ।