काठमाडौं । पछिल्ला तीन कारोबार दिन नेप्से परिसूचक निरन्तर घटेको छ । मंगलवारदेखि घटेको बजार बिहीवार पनि २४ दशमलव ७६ अंकले घटेर बन्द भएको हो ।
यो दिन बजार २ हजार ६६१ दशमलव ३३ विन्दुसम्म पुगेको थियो भने २ हजार ६२८ दशमलव २७ विन्दुसम्म झरेको थियो । अन्तिममा बजार २ हजार ६२८ दशमलव ९१ विन्दुमा बन्द भएको हो ।
यो दिन ४७ कम्पनीको धितोपत्र मूल्य बढ्दा २०१ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यस दिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९८ प्रतिशत बढेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ ६२ पैसाले बढेर अन्तिम मूल्य ३७० रुपैयाँ ५० पैसा कायम भएको हो ।
यो दिन पियोर इनर्जीको शेयर मूल्यमा भइरहेको उच्च मूल्य वृद्धि ब्रेक भएको छ । यसअघि निरन्तर उच्च दरमा बढ्दै आएको पियोर इनर्जीको शेयर मूल्य बिहीवार भने १० प्रतिशत घटेको छ । प्रतिकित्ता १२० रुपैयाँ ६८ पैसाले घटेर पियोर इनर्जीको शेयर मूल्य प्रतिकित्ता १ हजार ८६ रुपैयाँ ५२ पैसा कायम भएको हो ।
पियोर इनर्जीसँगै यस दिन रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि १० प्रतिशत घटेको छ भने भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको छ ।
यस दिनको कारोबारमा लामो टुप्पी भएको रातो मैनबत्ती आकृति बनेको छ । बुधवार डोजी आकारको मैनबत्ती बनेको थियो । बिहीवारको मैनबत्ती आकृतिले आगामी दिनमा बजारमा माग बढ्न सक्ने संकेत गर्छ ।
पछिल्लो समय बजार लगातार घट्दो क्रममै रहेकाले केही दिन बजार बढ्ने सम्भावनालाई पनि अनुमान लगाउन सकिन्छ ।
बिहीबार ११ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको २ करोड ९४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
बुधवार ९ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको २ करोड ३४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बिहीवार कारोबार रकम र कित्ता बढेको छ ।
यस दिन ङादी ग्रुप पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको ८५ करोड ४४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य शून्य दशमलव ७५ प्रतिशत अर्थात् प्रतिकित्ता ३ रुपैयाँ ७ पैसाले बढेर अन्तिम मूल्य ४१४ रुपैयाँ ३० पैसा कायम भएको हो ।
बिहीवार सबै समूहको परिसूचक घट्दा व्यापारिक समूहको परिसूचक सर्वाधिक २ दशमलव ४७ प्रतिशत घटेको छ ।
परिसूचक घटेको आधारमा यो समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ । यस दिन कुल बजार पूँजीकरण ४४ खर्बभन्दा तल कायम भएको छ । बुधवार ४४ खर्ब २१ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण बिहीवार ४१ अर्ब २६ करोड रुपैयाँभन्दा बढीले घटेर ४३ खर्ब ७९ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।