- वैदेशिक रोजगारीलाई अनियन्त्रित रूपमा खुला गरिँदा स्वदेशभित्र कृषि मजदूरको चरम अभावको स्थिति रहेको छ ।
- नेपालमा ठूला कृषक र ठूला पूँजीपतिहरूलाई शोषक सामन्त हुन् भन्ने भाष्य स्थापित भएको छ ।
- नेपालको निर्यात क्षेत्र साना–साना उत्पादनकर्ताबाट उत्पादन संकलन गरेर निर्यात गर्ने अभ्यासमा छ ।
- जहाँ श्रमको प्रशस्त आपूर्ति छ त्यहीँ उद्योग स्थानान्तरण गरी उत्पादन वृद्धि गर्ने विषयमा समेत लगानीकर्ताको रुचि छैन ।
- विश्वभरि नै अति प्रतिस्पर्धा र प्रतिस्पर्धाविहीनतालाई नियन्त्रण गर्ने गरिन्छ । परन्तु नेपालमा यो अभ्यास व्यवहारमा लागू हुन सकेको छैन ।
- संगठित र ठूलो लगानी आकर्षित नगरी उत्पादनको वृद्धि गर्न र मूल्य र गुणस्तरका दृष्टिकोणबाट प्रतिस्पर्धी बनाउन सकिँदैन
नेपालको निर्यात क्षेत्रको कमजोर पक्ष भनेको बजार हुँदाहुँदै पनि पर्याप्त मात्रामा वस्तु आपूर्ति गर्न नसक्ने परीस्थिति विद्यमान रहनु पनि एक हो । यस पक्षलाई सुधार नगरी नेपालको वर्तमान निर्यातको आकारमा अपेक्षित वृद्धिको सम्भावना देखिँदैन ।
यसरी बजार उपलब्ध हुँदाहुँदै पनि बजारको मागअनुसार पर्याप्त मात्रामा उत्पादन भई निकासी हुन नसक्नुको पछाडि देहायका कारणहरू जिम्मेवार रहेका छन् ।
विक्रम संवत् २०२१ सालमा लागू भूमिसुधार कार्यक्रमले भूमिको हदबन्दी सृजनासँगसँगै कृषिक्षेत्रमा ठूलो र संगठित लगानीको ढोका बन्द हुन गएको हो । एकातिर नेपालको समग्र कृषिक्षेत्र जग्गाको खण्डीकरणको कुचक्रमा फस्दै गएको छ भने अर्कोतर्फ कृषिक्षेत्रमा विद्यमान संरचनागत समस्या (कानूनी, नीतिगत र संयन्त्रात्मक) का कारण यस क्षेत्रमा लगानी ठूलो लगानी आकर्षित हुन सकेको छैन । फलस्वरूप नेपाली कृषि उत्पादनहरू स्वदेश र विदेश दुवै बजारमा मूल्यका दृष्टिकोणबाट प्रतिस्पर्धी हुन सकेका छैनन् । पहाडमा सडक सृजित पहिरो र तराईमा सडक सृजित डुबान एवम् वन्यजन्तुको अतिक्रमणले समस्यालाई झन् विकराल बनाउँदै कृषिक्षेत्रमा टिकिरहन अर्को समस्या सृजना भएको छ ।
वैदेशिक रोजगारीलाई अनियन्त्रित रूपमा खुल्ला गरिँदा स्वदेशभित्र कृषि मजदूरको चरम अभावको स्थिति रहेको छ । पहाडबाट बेंशी, तराई र शहरतिर तथा गाउँबाट शहरतिरको जनसंख्याको प्रवाहले उत्पादनमूलक क्षेत्र थप परित्यक्त क्षेत्रका रूपमा देखा परेको छ । फलस्वरूप कृषि क्षेत्रमा जमीन बाँझो रहने प्रवृत्ति तथा उत्पादनमूलक क्षेत्रमा क्षमताभन्दा कममा उद्योगहरू सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ ।
विश्वभरी पूँजीलाई आफूमा आकर्षित गर्न प्रतिस्पर्धा भई रहेका बेला हामी कहाँ भने पूँजीपतिहरूलाई हतोत्साही बनाउँदै कसरी स्वदेशबाट पूँजी बाहिर पठाउन सकिन्छ भन्ने उल्टो प्रवाह सक्रिय हुन थालेको छ । राजनीतिक रूपमा हेर्दा नेपालमा ठूला कृषक र ठूला पूँजीपतिहरूलाई शोषक सामन्त भन्ने भाष्य स्थापित भएको छ । यस भाष्यलाई नेपालको बुद्धिजीवीवर्ग र सञ्चारमाध्यमको पनि पृष्ठपोषण रहेको छ । यसले गर्दा ठूला लगानीकर्ताहरू चाहे ती कृषिक्षेत्रका हुन् या उत्पादनमूलक क्षेत्रका नै हुन् यस क्षेत्रबाट पलायन हुने गरेका छन् । यस्तो परिस्थितिमा कृषि तथा उत्पादनमूलक दुवै क्षेत्रमा विशाल आकारको लगानी गर्न लगानीकर्ता हिचकिचाइरहेका छन् । यही केही कारणले गर्दा विभिन्न प्रयास हुँदाहुँदै पनि नेपालमा कृषि तथा उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी आउन सकेको छैन । यसको असर निर्यात क्षेत्रमा पनि परिरहेको छ ।
नेपालको निर्यात क्षेत्र सानासाना उत्पादनकर्ताबाट उत्पादन संकलन गरेर निर्यात गर्ने अभ्यासमा छ । निर्यात हुन सक्ने उत्पादनका प्रक्रियामा ठूला उद्यमीको संलग्नता कम छ । यसरी छरिएर रहेको उत्पादनमा आधारित निर्यातको आकार कहीँ पनि विशाल हुन सक्दैन । परन्तु बृहत् उत्पादनका लागि ठूला पूँजीपतिहरू र ठूला कृषकहरू अघि आउनुपर्नेमा त्यो हुन सकेको छैन । ठूला पूँजीपतिहरू र ठूला कृषकलाई नेपाली जनमानसले राम्रो व्यवहार गरिरहेको छैन जसमा राजनीतिक हस्तक्षेप पनि केही न केही रूपमा जिम्मेवार रहेको छ ।
जहाँ श्रमको प्रशस्त आपूर्ति छ त्यहीँ उद्योग स्थानान्तरण गरी उत्पादन वृद्धि गर्ने विषयमा समेत लगानीकर्ताको साह्रै रुचि छैन । जे जस्तो अवस्थामा उद्योग चलिरहेको छ सोही अवस्थामा जेनतेन चलिरहने र टिक्न पाए पुग्ने मनस्थितिमा पनि उद्यमीहरू रहेका छन् । श्रमको प्रशस्त आपूर्ति भएको क्षेत्रमा स्थानीय राजनीतिक कार्यकर्ताको अनावश्यक दबाब र स्वार्थसमूहको चलखेलको अहिले नै आँकलन गर्दै उद्यमीहरू त्यस क्षेत्रमा जान त्रस्त छन् । यस अवस्थामा उद्योगको उत्पादन अपेक्षित रूपमा बढ्न सकेको छैन ।
विश्वभरि नै अति प्रतिस्पर्धा र प्रतिस्पर्धाविहीनतालाई नियन्त्रण गर्ने गरिन्छ । परन्तु नेपालमा यो अभ्यास व्यवहारमा लागू हुन सकेको छैन । यस्तो अभ्यास नहुँदा कुनै क्षेत्र आकर्षित क्षेत्रमा रूपमा देखा पर्ना साथ उक्त क्षेत्रमा साराका सारा उद्यमीहरू आइरिने प्रवृत्ति नेपालमा आम प्रचलन जस्तै हुन गएको छ ।
यसरी लाभदायी क्षेत्रमा लगानीमा भेडाप्रवृत्तिले गर्दा पुराना स्थापित उद्योगहरू पनि चल्न नसक्ने अनि नयाँ उद्योगहरू पनि चल्न नसक्ने अनौठौं अवस्था सृजना हुँदा ठूला उद्योगहरू फस्टाउन सकेको छैन । यही कारण विशेष गरी लाभदायी निर्यात क्षेत्रमा ठूलो लगानी भित्रिन सकेको छैन ।
ठूलो लगानी गरिसकेपछि बजारलाई गुम्न नदिन केही न केही नेपाल सरकारको पनि प्रत्याभूति हुन आवश्यक हुन्छ । यसका लागि सरकारले आर्थिक कूटनीति परिचलानलाई व्यापक बनाएको हुन्छ । कुनै कारणवश बाह्य बजारमा समस्या आएमा स्वदेशी उद्यमीहरूलाई आपत्कालमा उद्धार गर्न सरकारले विशेष आर्थिक प्याकेजको व्यवस्था गरेका हुन्छन् । फलस्वरूप निकासीकर्ताहरू ढुक्क भएर लगानी विस्तार गरिरहेका हुन्छन् । यस्तो लगानी विस्तारमा सरकारको पनि परामर्शदायी भूमिका रहने गरेको हुन्छ । परन्तु नेपालमा यो अभ्यासको थालनी हुन सकेको छैन । बाँचे बाँच मरे मर भन्ने अवस्थामा नेपाली निकासीकर्ता उद्यमीहरूले बजारमा एक्लो संघर्ष गरिरहनु परेको अवस्था छ । यस्तो अवस्थामा बजारलाई सुनिश्चित गर्न आर्थिक कूटनीतिको कमजोर उपस्थिति तथा सरकारको म छु भन्ने ढाडसको अभावमा निकासीकर्ताहरूमा रिस्क मोल्ने क्षमता कमजोर हुन गई निर्यात लक्षित उद्योगमा ठूलो लगानी हुन सकेको छैन ।
उपरोक्त वस्तुस्थितिमाझ नेपालको संगठित र ठूलो लगानी आकर्षित नगरी उत्पादनको वृद्धि गर्न र मूल्य र गुणस्तरका दृष्टिकोणबाट प्रतिस्पर्धी बनाउन सकिँदैन भन्ने निचोड निस्कँदै गर्दा नेपालको निर्यात क्षेत्रमा संगठित र विशाल आकारको लगानी आकर्षित गर्न देहायका क्षेत्रमा सुधारहरू आवश्यक देखिएको छ ।
सर्वप्रथम ठूला पूँजीपति र ठूला कृषकहरूलाई सम्मान गर्ने नीतिमा नेपालका राजनीतिक दलहरूमा आम सहमति हुन जरुरी छ । यी सहमतिहरू सरकारका नीति तथा कार्यक्रमहरू, पार्टीहरूका दस्तावेज, घोषणापत्रहरू तथा स्थानीय स्तरका कार्यकर्ताको आचरणमा समेत लागू हुन जरुरी देखिन्छ ।
दोस्रो, हिमाल र लेकमा पशुपालन, पहाडमा फलफूललगायत नगदेबाली र तराईमा प्रधान खाद्यान्न बालीको हब विकास गर्ने तथा पाखामा वस्ती बेंशी र फाँटमा खेती गर्ने तथा जनसंख्याको चाप रहेका क्षेत्रमा ठूला उद्योगहरू स्थापना गर्ने नेपालको राष्ट्रिय मूल नीति हो । यस नीतिलाई राष्ट्रिय संकल्पका रूपमा पुनः प्राथमिकतामा राखी कृषि तथा उत्पादनमूलक उद्योगमा उत्पादन वृद्धिका कार्यक्रमहरू सञ्चालन हुन जरुरी छ ।
यस्तै कृषिमा बृहत्तर लगानीको वातावरण सृजना गर्न भूमिमा विद्यमान हदबन्दीको व्यवस्थालाई परिवर्तन गर्दै हदबन्दीको सीमा हटाउन जरुरी देखिन्छ ।
सारांशमा भन्नुपर्दा नेपाली निर्यातमूलक उद्योगहरूको उत्पादन क्षमता वृद्धि गर्न ती उद्योगलाई श्रमको आपूर्ति हुने क्षेत्रमा केन्द्रित गर्नु आवश्यक छ । दोस्रो नेपाली उद्यमीहरूमा विद्यमान असुरक्षाको मनोभावलाई हटाउन राजनीतिक तहबाट नै पूँजीपति र भूमिपतिलाई हेर्न दृष्टिकोणमा भित्रबाटै परिवर्तन आउन जरुरी छ । समाजका हरेक सदस्यहरूले पनि ठूला पूँजीपतिहरूको लगानीले नै आम रोजगारी सृजना गरी समाजमा समृद्धि ल्याउने हो र यसको सम्मानले नै यस्तो अवस्था आमन्त्रण गर्न सक्छ भन्ने यथार्थलाई स्वीकार गरी पूँजीपति र भूमिपतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरिनुपर्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।