ओखर नेपाललगायत मध्यएशियाको पहाडी क्षेत्रहरूमा पाइने फलमा पर्छ । ओखरको बोट ठूलो र बलियो हुन्छ । कानूनी हिसाबले यसको रूख काट्न र बेचबिखन गर्न प्रतिबन्धित छ । ओखरका रूखहरू नेपालको उच्च पहाडी क्षेत्रमा १ हजारदेखि ४ हजार मीटरको उचाइमा देशका समशीतोष्ण क्षेत्रहरूमा पाइन्छ । नेपालको हावापानी यसका लागि उपयुक्त देखिए पनि यसलाई व्यावसायिक बालीका रूपमा बिरलै प्रयोग गरिएको छ । नेपालका वनजङ्गलमा प्रायः हाडे ओखर पाइन्छ । दाँते प्रजातिको राम्रो मानिन्छ । त्यसैले हाडे ओखरको बोटमा दाँते ओखर कलमी गरी राम्रो उत्पादन गर्न सकिन्छ । साथै स्याहारसुसार राम्रोसँग गरी एकपटक हुर्काएको बिरुवालाई हुर्किसकेपछि त्यति हेरचाह गर्नु पर्दैन भनी यसका विज्ञहरूले बताउने गर्छन् । विभिन्न स्रोतबाट प्राप्त विवरणअनुसार ओखर नेपालको पूर्व, मध्य तथा पश्चिमी भेगमा १ हजार २०० देखि २ हजार १०० मीटरसम्मको उचाइमा पाइन्छ । पश्चिम नेपालमा यो प्राकृतिक जंगलका रूपमा भेटिएको छ ।
ओखरका रूखहरू प्राकृतिक वन जंगलमा मिसिएर वा अलग समूहमा समेत पाइएको छ । यो केही चट्टान भएको सामान्य भिरालो, गहिरो तर खुकुलो माटो भएको ठाउँमा हुर्किएको पाइएको छ । यो घाम रुचाउने खालको रूख हो । ओखर लगाएको ८–१० वर्षमा फल दिन थाल्दछ । यसको बोटले करीब १०० वर्ष सम्म फल दिन सक्छ । यसको आयु बढीमा ३०० वर्षसम्म भएको उल्लेख छ ।
ओखर हुर्कनका लागि हिउँदमा हिउँले नढाक्ने र वर्षा याममा कडा गर्मी नहुने वातावरण आवश्यक पर्छ । १ हजार ७५० मीमीभन्दा बढी पानी पर्ने ठाउँमा यो राम्रो हुर्कन्छ । बलौटे माटो यसका लागि राम्रो मानिन्छ । यसको काठ कडा र बलियो हुनुका साथै मसिनो हुन्छ । यो चिरान गर्नका लागि सजिलो काठमा गनिन्छ । काष्ठकलाका वस्तुहरू बनाउन यो राम्रो मानिन्छ । फर्निचरका लागि पनि यसको काठ उत्तम मानिन्छ ।
यसको उपयोगिता र अन्य प्रयोग सम्बन्धमा बोक्रालाई छालासम्बन्धी रोगमा प्रयोग गरिन्छ । ओखर फल निकै पौष्टिक हुन्छ । त्यसैले स्थानीयले भोक मेटाउन खाने गरेको पाइन्छ । ओखर जुनसुकै उमेरका व्यक्तिका लागि फाइदाजनक मानिन्छ । बढ्दो उमेरका केटाकेटीलाई ओखर खुवाउँदा यसले छिटो मानसिक तथा शारीरिक विकास गर्छ । नियमित ओखर खाँदा निद्रा नलाग्ने समस्याबाट छुटकारा मिल्छ । ओखरको तेल खान प्रयोग हुन्छ । थोरै मात्रामा भने लेख्ने मसी, वार्निस तथा साबुनमा प्रयोग हुन्छ । यसको तेल छालाको रोगमा पनि प्रयोग गर्ने गरिन्छ । पातहरूमा कृमिनाशक गुण हुन्छ । यसमा भिटामिन ई प्रशस्त मात्रामा रहेको हुन्छ । यसले दिमाग तेज बनाउनका साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । नियमित ओखर खाने गरेमा क्यान्सर, मोटोपन, मधुमेहजस्ता रोग लाग्दैनन् । यसका साथै अनावश्यक तौल पनि बढ्दैन । एक अध्ययनका अनुसार ओखरले एकाग्रकता बढाउनमा ठूलो मद्दत गर्छ । खेती गरिने विभिन्न प्रकारमा कागजी अखरोट (दाँते ओखर) सबैभन्दा राम्रो मानिन्छ । यसमा फल ठूलो हुनका साथै सजिलै बोक्रा फुटाउन सकिने र सफा सेतो गुदी भएको हुन्छ ।
खास गरी तिहारका बेला प्रयोगमा ल्याइने ओखरको धार्मिक महत्त्व पनि रहेको छ । ओखर पौष्टिक पदार्थले भरिपूर्ण हुन्छ । संयुक्त राज्य अमेरिकाको कृषि विभागको बुलेटिन अनुसार एक औंस (लगभग एक चौथाई कप, वा १४ ओखरको आधा भाग) मा १८ ग्राम राम्रो तैल पदार्थ, ४ ग्राम प्रोटिन र लगभग २ ग्राम फाइबर उपलब्ध हुने गर्छ । यसमा हाम्रो शरीरलाई आवश्यक पर्ने म्याग्नेसियम, पोटासियम, आइरन, क्याल्सियम, सोडियम र भिटामिन बी पाइन्छ ।
यसमा मुटु स्वस्थ रहन शरीरलाई आवश्यक पर्ने अल्फा लिनोलेनिक एसिड पाइन्छ जुन ओमेगा ३ फ्याट्टी एसिडको एउटा प्रकार हो । ओखरले पाचन प्रणालीलाई स्वस्थ राख्न पनि मद्दत गर्छ । साथै रक्तचाप कम गर्नमा सहयोग गर्छ ।
ओखरमा पाइने ओमेगा ३ फ्याट्टी एसिडले मस्तिष्क स्वस्थ राख्छ । यसले अनावश्यक तौल सन्तुलन गर्ने हुँदा डाइटिङमा रहेकाहरूका लागि यो फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले यो डाइटिङ गर्नेहरूका लागि फाइदाजनक मानिएको हो । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । फाइवरले पाचन प्रणालीलाई सक्रिय बनाउँछ । नियमित सेवन गरे रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले क्यान्सर, ह्दयाघात र अन्य रोग लाग्नबाट बचाउँछ । कोलेस्ट्रोल कम गर्छ । हाड बलियो बनाउँछ । छालामा चमक आउँछ ।
विश्व बजारमा यसको माग अत्यधिक छ नेपाली बजारमा प्रतिकिलो रू. ६०० देखि ७०० मा विक्री हुन्छ । यसलाई लामो समयसम्म पनि भण्डारण गरेर राख्न सकिन्छ ।
नेपालमा यसको माग कस्तो छ र आयात केकति हुने गरेको छ । प्रशस्त उत्पादन गरी आयात प्रतिस्थापन गर्न सकिन्छ कि वा विदेशमा निर्यात गर्न सकिन्छ यसको आँकलन भन्सार विभागबाट प्रकाशित पछिल्लो विवरणमार्फत गरौं ।
तथ्यांकले देखाएअनुसार आर्थिक वर्ष २०७६/७७ मा रू. ७७ करोड ४५ लाख मूल्यको ओखर आयात भयो भने उक्त वर्ष निर्यात भएको थिएन । आर्थिक वर्ष २०७७/७८ मा रु. १ अर्ब ५ करोड ९७ लाख मूल्यको र आव २०७८/७९ मा रु. ७२ करोड ८६ लाख मूल्यको ओखर आयात भयो तर पनि निर्यात भएको थिएन । आव २०७९/८० मा रु. ९१ करोड ५२ लाख मूल्यको आयात भयो भने रु. १ करोड ६१ लाख मूल्यको निर्यात भएको थियो । गत आव २०८०/८१ मा सर्वाधिक बढी अर्थात रु. १ अर्ब १४ करोड १३ लाख मूल्यको आयात भयो भने निर्यात तुलनात्मक रूपले निकै कम अर्थात रु. १ करोड १९ लाख मूल्यको भएको थियो । चालू आवको प्रथम दश महिनामा करीब रु. १ अर्ब २५ करोड मूल्यको आयात भएको छ भने निर्यात जम्मा ५८ लाख मूल्यको भएको छ ।
ओखरको आयात वा निर्यात दुई प्रकारमा हुने गरेको छः खवटासहितको ओखर र खवटा फुटाएको ओखर । यहाँ प्रस्तुत गरिएको आयात विवरण दुवैको जोडेर राखिएको हो।
आव २०७६/७७ मा सबैभन्दा बढी आयात संयुक्त राज्य अमेरिकाबाट करीब रु. ३३ करोड २४ लाख मूल्यको ओखर आयात भएको र दोस्रोमा चीनबाट करीब रु. ३२ करोड १६ लाख मूल्यको ओखर आयात भयो । आव २०७७/७८ मा संयुक्त राज्य अमेरिकाबाट करीब रु. ३७ करोड ७३ लाख मूल्यको ओखर आयात भए तापनि सबैभन्दा बढी आयात चीनबाट करीब रु. ६२ करोड ९८ लाख मूल्यको आयात भयो । त्यस पछिका वर्षहरूमा एक पछि अर्को फड्को मार्दै चीनबाट हुने आयातमा वृद्धि हुँदै आयो भने संयुक्त राज्य अमेरिकाबाट हुने आयात घटेर चालू आवसम्म आइपुग्दा शून्यमा परिणत भयो । तर, चीनबाट चालू आवको प्रथम दश महिनामा रु. १ अर्ब २५ करोड मूल्यको आयात भएको छ । अरू देशबाट आयात नगण्य मात्र भएको छ । जस्तो कि चालू आवमा भारतबाट केवल रु ६ लाखको मात्र ओखर आयात भएको छ ।
लेखक तथ्यांकशास्त्री एवं भन्सार विभागका पूर्वकर्मचारी हुन् ।