काठमाडौं । असार १ गते सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट गरेको ट्रेड टावर लिमिटेड अब दोस्रो बजारमा सूचीकृत हुनेछ । कम्पनीले संस्थापकसमेत सर्वसाधारणतर्फको शेयर दोस्रो बजारमा सूचीकृत गराउनेछ । प्राथमिक बजारमा प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ जारी गरेको कम्पनीको शेयरको पहिलो कारोबार मूल्य भने बजार सञ्चालकले निर्धारण गर्नेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो शेयर कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्नेछ ।
यस कम्पनीको गत आर्थिक वर्षको अन्त्यसम्मको वास्तविक प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ९ पैसा छ । यस आधारमा नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १२३ रुपैयाँ ९ पैसादेखि अधिकतम प्रतिकित्ता ३६९ रुपैयाँ २७ पैसासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने देखिन्छ । कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानीकोषका लागि, २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि र बाँकी ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ थप सर्वसाधारणमा बाँडफाँट गरेको हो । यस कम्पनीमा संस्थापकतर्फ ५१ दशमलव ३०४ प्रतिशत शेयर स्वामित्व रहेको छ भने सर्वसाधारणमा ४८ दशमलव ६९६ प्रतिशत शेयर जारी गरिएको हो ।
यो कम्पनी २०७८ साल माघ १२ गतेदेखि निरन्तर सञ्चालनमा रहेको छ । कम्पनीले लिजिङ्ग एण्ड फाइनान्सिङ, प्रोजेक्ट डेभलपमेन्ट, पूर्वाधार विकासका क्षेत्रलगायत होटल, हस्पिटालिटी र पर्यटन क्षेत्रमा समेत काम गर्दै आएको छ । कम्पनीको पहिलो परियोजना काठमाडौंको थापाथलीमा ट्रेड टावर रहेको छ । नेपाल खाद्य संस्थानको जमिन ३० वर्षका लागि लिजमा लिएर नेपालकै सबैभन्दा ठूलो कर्पोरेट कम्प्लेक्ट निर्माण गरी विगत १५ वर्षदेखि सञ्चालनमा रहेको छ । कम्पनीले ललितपुरको भैंसेपाटीमा १९० ओटा अपार्टमेन्ट निर्माण तथा विक्री गरी दोस्रो परियोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ । हाल तेस्रो परियोजनको रुपमा गौशाला, काठमाडौंमा पशुपतिनाथ मन्दिरको दक्षिणतर्फ रिङरोडमा जोडिएको करिब ४ रोपनी जमीन ३५ वर्षका लागि लिजमा लिएर क्रिष्टल पशुपतिका नाममा ७ तले भवन निर्माण भई आंशिक रुपमा होटल सञ्चालन गरिरहेको छ । कम्पनीले आगामी दिनमा देशका ७ ओटै प्रदेशमा एक–एक ओटा पर्यटनसम्बन्धी परियोजना विकास गर्ने लक्ष्य लिएको छ ।