काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण पूरा भएको छ । फ्लाईओभरको शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाईओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए ।
निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले मुख्य संरचनाको निर्माण पूरा भएको र अब केही दिनभित्रै फ्लाईओभर सञ्चालनमा आउने र सार्वजनिक यातायातका लागि खुला गरिने बताए ।
यस्तै सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्यभागमा डिभाईडर राख्ने तथा केही सामान्य काम बाँकी रहेको बताए । २\३ दिनभित्रै बाँकी सबै काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने जानकारी उनले दिए ।
पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले चाँडै काम सक्न निर्देशन दिएका थिए । सो फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।