- हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर विक्रीमा राखियो
काठमाडौं । पाकिस्तानको हबिब बैंक लिमिटेडले नेपालको हिमालयन बैंकमा रहेको आफ्नो संस्थापक शेयर विक्री गरी नेपालबाट बाहिरिने प्रक्रिया पुनः अघि बढाएको छ । यसअघि दुईपटक आफ्नो शेयर बेच्ने प्रयास असफल भएपछि उक्त बैंकले तेस्रोपटक पुनः शेयर विक्रीको प्रयास अघि बढाएको हो ।
हिमालयन बैंकले पाकिस्तानी बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर खरीदको प्रस्ताव हाल्न सोही बैंकका संस्थापक शेयरधनीका नाममा शुक्रवार ३५ दिने सूचना जारी गरेको छ । न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८१ को निर्देशन नम्बर १० बमोजिम संस्थापक शेयर खरीद गरी लिन पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्थाबमोजिम बैंकका हाल कायम संस्थापक शेयरधनीहरूलाई उक्त शेयर खरीद गर्न भनिएको हो ।
निवेदन प्राप्त नभएमा प्रचलित कानूनबमोजिम अन्य व्यक्ति र संस्थालाई संस्थापक शेयर विक्री प्रक्रिया अगाडि बढाइने बेहोरा पनि सूचनामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को प्रावधानअनुसार बैंक, वित्तीय संस्था सञ्चालनको ५ वर्षसम्म संस्थापक शेयर विक्री गर्न पाइँदैन । त्यसपछि पनि संस्थापक शेयर संस्थापक समूहमै रहने गरी विक्री नभएको अवस्थामा मात्र बाहिर विक्री गर्न पाउने प्रावधान छ । यस्तै २ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका कम्पनी तथा संगठित संस्थाको शेयर विक्रीका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ ।
२०८० को मङ्सिरतिर पनि हबिब बैंकले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई आफ्नो स्वामित्वको शेयर विक्री गर्ने प्रयास गरेको थियो । हबिब र हिमालयन रिबीच प्रतिकित्ता १३० रुपैयाँमा शेयर किनबेच सम्झौता भएको थियो । त्यसको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको थियो । तर, राष्ट्र बैंकले स्वीकृति नदिँदा उक्त प्रयास असफल भएको थियो ।
त्यसपछि हबिबले उक्त आवेदन नै फिर्ता लिएको थियो ।
सिभिल बैंकसँग मर्जरमा जानुअघि हिमालयनमा हबिबको २० प्रतिशत शेयर स्वामित्व थियो । मर्जरपछि शेयर समायोजन हुँदा हबिबको स्वामित्व १२ प्रतिशतमा झरेको छ । अहिले हिमालयन बैंकमा हबिबको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८१ को निर्देशन नम्बर १० अनुसार संस्थापकले नकिनेपछि मात्र संस्थापक शेयर अन्य संस्था तथा व्यक्तिलाई बेच्न पाइन्छ । त्यही भएर पछिल्लो सूचना निकालिएको हो ।
हबिबले ४ वर्षअघि नै हिमालयनको शेयर विक्री गर्न खोजेको थियो । हबिबले बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) सँग सम्झौता गरे पनि हिमालयनका सञ्चालकको विरोधपछि भाँडिएको थियो । अहिले भने पुनर्बीमा कम्पनी हिमालयन रिले बैंकको शेयर किन्न लागेको हो । हिमालयन रिको अध्यक्षमा गोल्छा समूहका शेखर गोल्छा छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन् ।