काठमाडौँ । इजरायलले इरानका आणविक प्रशोधन केन्द्रहरूमा गरेको हवाई आक्रमणमा इरानका रिभोल्युशनरी गार्डका प्रमुख हुसेन सलामीका साथै सेना प्रमुख मोहम्मद बाघेरी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासी मारिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानी अधिकारीहरूले हमलामा सलामीको मृत्यु भएको पुष्टि गरेका छन् ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा तेहरानको आवासीय भवनहरू भत्किएका र बालबालिका तथा महिलासहित दर्जनौँ सर्वसाधारण मारिएका छन् । तेहरानको मुख्य विमानस्थल इमाम खोमेनी अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको छ भने सबै उडान स्थगन गरिएको छ । यसका साथै इरानले छिमेकी इराकसँगका सबै उडान पनि रद्द गरेको छ ।
इजरायलले आज (शुक्रवार) विहान इरानको आणविक केन्द्र र सैन्य अखडामा आक्रमण गरेको हो । इरानले आणविक प्रविधिमा तीव्र गतिमा गरिरहेको विकासले आफ्नो अस्तित्त्वमाथि नै खतरा उत्पन्न भएको दावी गर्दै इजरायलले इरानमाथि आक्रमण गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले इरानी राजधानी तेहरानस्थित आणविक र सैन्य अखडासहित १०० भन्दा बढी ठाउँलाई निशाना बनाएर आक्रमण गरेको थियो ।
बीबीसीका अनुसार, तेहरानको विमानस्थल बन्द गरिएको छ भने इजरायलले आपतकाल घोषणा गरेको छ । अमेरिकाले भने इजरायली आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।
अन्तरराष्ट्रिय आणविक ऊर्जा संस्थाले हालै २० वर्षपछि पहिलोपटक इरानलाई आणविक अप्रसार सन्धिको उल्लंघन गरेको भन्दै चेतावनी दिएको थियो । इरानले भने आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र रहेको जिकिर गर्दै आएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उक्त आक्रमण ‘इरानको आणविक कार्यक्रमको मुटुमै प्रहार’ भएको दावी गरेका छन् । उनले भिडियो सन्देश जारी गर्दै इरानको मुख्य परमाणु केन्द्रमै आक्रमण गरेको दावी गरेका छन्। उनले तेहरानबाट करीब २२५ किलोमीटर परको नातांज शहरस्थित इरानको मुख्य परमाणु केन्द्रमा आक्रमण गरेको बताएका छन् ।
इरानका सर्वोच्च धार्मिक नेता अयातुल्ला अली खोमेनीले यो आक्रमणको ठूलो मूल्य इजरायलले चुकाउनुपर्ने चेतावनी दिएको इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।
इरानको प्रत्याक्रमण
हमलाको जवाफ इरानले इजरायलमाथि ड्रोन आक्रमण गरेर फर्काएको छ । इरानका १०० ओटा ड्रोनलाई आफ्नो प्रतिरक्षा प्रणालीले आकाशमै निष्क्रिय पारिरहेको दावी इजरायलले गरेको छ ।
आक्रमणबारे अमेरिकी राष्ट्रपति ट्रम्पलाई पूर्वजानकारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई इरानमाथि इजरायली आक्रमण हुनेबारे पहिले नै जानकारी रहेको फक्स न्युजसँग बताएका छन् । उनले आक्रमणमा २०० लडाकू विमान सामेल हुने जानकारी इजरायली सेनाले आफूलाई दिएको बताए । साथै उनले कुनै पनि स्थितिमा इरानसँग आणविक हतियार हुन नहुनेमा जोड दिँदै इजरायली आक्रमणलाई घुमाउरो पारामा समर्थन गरे ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गर्दै इजरायलले आत्मरक्षाका लागि उक्त आक्रमण गरेको दावी गरेका छन् । तर उनले आक्रमणमा अमेरिका सहभागी नरहेको भन्दै अमेरिका वा अमेरिकी सेनामाथि आक्रमण नगर्न पनि इरानलाई चेतावनी दिए।
तर इरानले अमेरिकी सहमतिविना यो इजरायली आक्रमण हुनै नसक्ने जिकिर गर्दै आक्रमणमा अमेरिका पनि उत्तिकै जिम्मेवार रहेको आरोप लगाएको छ । उसले यो आक्रमणका लागि अमेरिकाले समेत दुष्परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।