वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले अन्य ७ देशका नागरिकमाथि भने अमेरिका प्रवेशमा आंशिक प्रतिबन्ध लगाएका छन् । प्रतिबन्ध यही जेठ २६ गते (जुन ९) देखि लागू हुने बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
राष्ट्रपति ट्रम्पले अफगानिस्तान‚ म्यान्मा (बर्मा)‚ चाड‚ कंगों‚ इक्विटेरियल गिनी‚ इरिट्रिया‚ हाईटी‚ इरान‚ लिबिया‚ सोमालिया‚ सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेश निषेध गरेका हुन् । उनले ती देशमा भिसा प्रक्रियाका लागि व्यक्तिबारे आवश्यक सत्यतथ्य जानकारी पाउन कठिन भएकाले अमेरिकाको सुरक्षाका लागि उनीहरूलाई अमेरिका प्रवेश निषेध गर्नु परेको घोषणा गरेका हुन् ।
उनले बुरुन्डी‚ क्यूबा‚ लाओस‚ सिएरालियोन‚ टोगो‚ तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई भने अमेरिका प्रवेशमा आंशिक प्रतिबन्ध लगाएका छन् ।