वीरगञ्ज । बढ्दो गर्मी र सुक्खासँगै वीरगञ्ज क्षेत्रमा खानेपानीको संकट चर्किएको छ । वीरगञ्जस्थित खानेपानी संस्थानको कार्यालयमा दैनिकजसो खानेपानी धारा जडानको माग गर्दै सेवाग्राही आउने क्रम बढेको छ ।
घरघरका चापाकल सुकेपछि वीरगञ्जका बासिन्दा खानेपानीको धारा जडान गर्न माग गर्दै कार्यलयमा आउने गरेको खानेपानी संस्थान वीरगञ्ज कार्यालयका प्रमुख प्रविनकुमार साहले बताए । ‘अहिले दैनिकजसो नयाँ धारा जडानको आवेदन आउने गरेको छ । हामीले मागअनुसार आपूर्ति दिन सकिएको छैन,’ साहले भने ।
वीरगञ्ज र आसपासका क्षेत्रमा विगत तीन वर्षदेखि खानेपानीको समस्या थपिँदै आएको छ । अहिले वीरगञ्ज क्षेत्रमा दैनिक १ करोड ५० लाख लिटर पानीको माग रहेकोमा दैनिक १ लाख १० हजार लिटर पानी आपूर्ति भइरहेको प्रमुख साहले जानकारी दिए ।
खानेपानीले वितरण गर्दै आएको पानीमध्ये ४० प्रतिशत चुहावट र चोरी भइरहेको पनि संस्थानले जनाएको छ । महानगर क्षेत्रमा १६ ओटा बोरिङ र ५ ओटा पानीटंकीबाट पानी आपूर्र्ति भइरहेको छ ।
खानेपानीको माग बढेपछि संस्थानले वीरगञ्ज महानगर क्षेत्रमा खानेपानीको पाइपलाइन विस्तारलाई तीव्र पारेको वितरण प्रमुख सञ्जीव यादवले जानकारी दिए । यो वर्ष २५ किलोमिटर पाइपलाइन विस्तार गरिएको उनले बताए ।
विगत केही वर्षदेखि खानेपानीको समस्या चर्किँदै गएपछि वीरगञ्जलाई सुक्खा क्षेत्र घोषणा गर्न सरोकारका पक्षले सुझाएका छन् । वीरगञ्ज र आसपासका क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरी आपूर्तिका प्रक्रिया सहजीकरण र ग्राहकलाई विशेष सहुलियत दिनुपर्ने बताइएको छ ।