काठमाडौँ । नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षीय ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । २६ वर्षीय छोरा आयुष कार्कीले उनलाई कलेजो दान गरेका हुन् । उनको कलेजो प्रत्यारोपण गएको जेठ ८ गते गरिएको हो ।
कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपणमध्ये पर्छ । कलेजो प्रत्यारोपण गर्न शल्य चिकित्सकसहित ठूलो टोलीको आवश्यक पर्छ । ईश्वरको कलेजो प्रत्यारोपण गर्न करीब १३ घण्टा लागेको थियो । भारतको प्रशिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा नेपाल मेडिसिटीका चिकित्सकहरूको नेतृत्वमा कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको हो ।
“हामी उपचारका लागि दुईपटक भारत गएका थियौं, तर त्यहाँ डाक्टरको परामर्श चित्त बुझेन । बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्नै पर्ने भनेपछि हामी झन् आत्तियौं र नेपाल नै फर्कियौं,” बुवालाई कलेजो दिएका आयुषले भने ।
उनले मेडिसिटी अस्पतालबारे थाहा पाएपछि त्यहीँ परीक्षणका लागि बुवा ईश्वरलाई लिएर आएको बताए । “नेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल रहेको थाहा पाएपछि हामी नेपाल मेडिसिटी अस्पतालमा आयौं र कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने जानकारी पाएपछि यहीँ प्रत्यारोपण गर्ने निर्णय गर्यौं । पहिले नै यहाँ परामर्श लिएको भए २/२ पटक भारत धाउनुपर्ने थिएन‚ हाम्रो समय र पैसा पनि जोगिन्थ्यो,” उनले भने ।
ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिदकुमार श्रेष्ठका अनुसार विरामी ईश्वरको कलेजो र मिर्गौला दुवै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।
“उहाँको पेटमा पानी जम्ने, वेला वेलामा होस् हराएको जस्तो हुने, रगत बान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थिए । उहाँको कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छाडिसकेको थियो । उहाँको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुवै गर्नुपर्ने थियो‚ मेडिसिटीमा हामीले उहाँको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेका छौं,” डा. श्रेष्ठले भने ।
कलेजोकै कारण मिर्गौला बिग्रिएकाले अहिले विरामीको मिर्गौलामा पनि सुधार देखिएको मेडिसिटीले जनाएको छ ।
“हामीले उहाँको शल्यक्रिया गर्नुअघि नै यसमा जोखिम रहेको र पहिले कलेजो प्रत्यारोपण गर्ने र कलेजोको कारण मिर्गौला बिग्रेको हो वा होइन जाँच गरेर मात्र मिर्गौला प्रत्यारोपण गर्ने भनेर सम्झाएका थियौं । उहाँले धेरै अस्पताल धाइसक्नु भएको तथा लामो समय बितेका कारण चुनौती आत्मसात् गरी यो प्रत्यारोपण गरेका हौं, ” कलेजो प्रत्यारोपण सर्जन डा.रामबाबु साहले भने ।
मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको बताए । “नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण पहिलो पटक भएको छ । हामीसँग मल्टिडिसिप्लिनरी टिम भएका कारण जटिल शल्यक्रिया सम्भव भएको हो,” उनले भने ।
नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार सन् २०२३ देखि २०२४ सम्म ७० जनाभन्दा बढी नेपालीले भारतमा कलेजो प्रत्यारोपण गराएका छन् । “हामीले नेपालीहरूले उपचारका लागि विदेश जान नपरोस् भनेर नै यो अस्पताल सञ्चालनमा ल्याएका हौं । त्यसैले नेपाली जनशक्तिलाई नै सक्षम बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं ।”
नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तरराष्ट्रिय स्तरको स्वास्थ्य सेवा सर्वसुलभ शुल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको जनाएको छ । यहाँ कलेजो प्रत्यारोपणसँगै विभिन्न अंगको पनि प्रत्यारोपण गरिँदै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भईसकेको छ भने ५०० जनाभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण पनि भइसकेको छ ।