काठमाडौं । एशियन पेन्ट्स नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलर नेक्स्ट २०२५’ भव्य रूपमा आयोजना गरेको जनाएको छ । यो कार्यक्रमको मुख्य आकर्षणको रूपमा वर्ष २०२५ को ‘कलर अफ द इयर’को रूपमा ‘कार्डिनल’ रङको घोषणा गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यसले नेपालमा डिजाइन, नवीनता र रचनात्मक संवादमा एशियन पेन्ट्सको नेतृत्व र प्रतिबद्धता झल्काउने बताइएको छ ।
एशियन पेन्ट्सले सन् २००३ देखि ट्रेन्ड फरकास्टको क्षेत्रमा काम गर्दै आएको छ । कलर नेक्स्ट कम्पनीले हरेक वर्ष गर्ने व्यापक अभ्यास भएको बताइएको छ । यसमा ‘मानव व्यवहारमा प्रभाव पार्ने विश्वव्यापी सामाजिक–सांस्कृतिक प्रविधिको अध्ययन गरिन्छ र त्यसलाई कलर, मटेरियल, फिनिसेस र टेक्स्चरको नयाँ डिजाइन दिशामा रुपान्तरण गरिन्छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ । ‘यस प्रक्रियामा उद्योगसँगको अन्तरक्रिया, सांस्कृतिक विज्ञहरूसँग कार्यशाला र व्यापक द्वितीयक अनुसन्धान समावेश हुन्छ, जसले डिजाइन र डेकोर उद्योगका लागि महत्त्वपूर्ण अन्तर्दृष्टिहरू प्रदान गर्छ ।’ कार्यक्रममा एशियन पेन्ट्सका क्षेत्रीय प्रमुख (ग्लोबल) बुधदित्य मुखर्जीले नेपालमा डेकोर उद्योगमा डिजाइन, नवप्रवर्तन र रचनात्मक संवादलाई नेतृत्व दिने कम्पनीको प्रतिबद्धता दोहोर्याए ।