काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत देशभरका मुख्य शहरहरूमा फाइभ–जी सेवा विस्तार गर्ने घोषणा गरेका बेला दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले भने अहिलेको अवस्थामा नेपालमा फाइभ-जी सेवा सपना मात्रै हुनसक्नेतर्फ सचेत गराएको छ ।
नेपालको मोबाइल दूरसञ्चार उद्योग संकटमा रहेकाले संरचनात्मक सुधारको उपाय अवलम्बन नगरिए सो उद्योग दिगो रूपमा सञ्चालन गर्न सम्भव नहुने र यसले फाइभ-जी युगतर्फको तयारीलाई गम्भीर असर पुर्याउने एनसेलको भनाइ छ ।
एनसेलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मोबाइल दूरसञ्चार उद्योगको आम्दानी पछिल्लो ६ वर्षमा निरन्तर घटिरहेको छ । प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०७४/७५ मा ९८.७ अर्ब रुपैयाँ रहेको उद्योगको कुल आम्दानी २०७९/८० मा घटेर ७३.१ अर्बमा झरेको छ । हालको अवस्था यथावत् रहे आर्थिक वर्ष २०८५/८६ सम्ममा यो आम्दानी ५६.३ अर्बमा सीमित हुने एनसेलको प्रक्षेपण छ ।
स्रोत : एनसेल प्रतिवेदन
आम्दानी घट्नु र लगानीमैत्री नीति नहुँदा उक्त उद्योगमा विदेशी लगानी भित्र्याउन सकिएको छैन । जबकी दक्षिण एसियाका अन्य देशमा मोबाइल उद्योगमा विदेशी लगानी रहेको देखिन्छ ।
मोबाइल सेवा प्रदायकहरूका लागि लगानी फिर्ता गर्न मुस्किल भएकाले उद्योगमा पुनः लगानी गर्न सक्ने क्षमता खस्कँदो छ । एनसेलका अनुसार, सेवा जोगाइराख्न मात्र पनि उद्योगले वार्षिक कम्तीमा ६ अर्ब रुपैयाँ बराबरको लगानी आवश्यक पर्ने देखिएको छ ।
यसकारण संकटमा पर्याे मोबाइल दूरसञ्चार उद्योग
एनसेलले नेपालको मोबाइल दूरसञ्चार उद्योग संकटमा पर्नुमा विभिन्न कारणहरू औंल्याएको छ । भ्वाइस कल गर्ने ग्राहक घट्नु, वाइफाईको पहुँच बढ्नु, विनियामक नीतिको अस्थिरतालगायत कारणले उद्योग संकटमा परेको एनसेलको भनाइ छ ।
प्रतिवेदनमा मोबाइल ग्राहकहरूका लागि मोबाइल इन्टरनेटको प्राथमिक स्रोत नभएको उल्लेख छ । जसअनुसार, ७७ प्रतिशत मोबाइल प्रयोगकर्ताले वाइफाई प्रयोग गरी आफ्नो ६० प्रतिशतभन्दा बढी समय खर्च गरेको बताइएको छ ।
वाइफाईको पहुँच बढेसँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । जसका कारण इन्टरनेट सेवा प्रदायकको राजस्व बढेको छ भने मोबाइल सेवा राजस्व घटेको छ । एनसेलका अनुसार, पछिल्लो समय इन्टरनेट सेवा प्रदायकको राजस्व ४०० प्रतिशत बढेको छ भने मोबाइल सेवा राजस्व २५ प्रतिशत घटेको छ ।
यस्तै, विनियामक नीतिहरूको अस्थिरता र स्पेक्ट्रम वितरणमा ढिलाइले यी उद्योगमा लगानी घटाएको एनसेलको भनाइ छ ।
एनसेलले उद्योग सुधारका लागि पछिल्लो ९ महीनामा केही रणनीतिक कदम चालेको उल्लेख गरेको छ । एनसेलले डाटा र भ्वाइस प्याकहरूलाई सरल बनाउँदै ‘सधैं अन’ जस्ता प्याकहरू सञ्चालनमा ल्याएको छ । यस्तै, प्याकहरूमा बण्डल सुविधा, स्वास्थ्य बीमा र स्ट्रीमिङ सेवा थपेको छ ।
कसरी हुन्छ दीर्घकालीन समाधान ?
प्रतिवेदनमा नेपालको मोबाइल दूरसञ्चार उद्योगलाई संकटबाट जोगाउन कम्पनीले सब्सक्रिप्सन मोडल लागू गर्नुपर्ने सुझाव दिइएको छ ।
उक्त मोडल भारतमा पनि लागू छ । भारतको मोबाइल उद्योगले उक्त मोडल अपनाएर पछिल्लो ५ वर्षमा ११२ प्रतिशत आम्दानी वृद्धि गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
के गर्नुपर्छ सरकारले ?
सरकारले मोबाइल दूरसञ्चार उद्योगलाई संकटबाट जोगाउन स्पेक्ट्रम फ्रि गर्नुपर्ने, भन्सार शुल्क घटाउनुपर्ने, नेटवर्क शेयरिङ गर्नुपर्नेलगायत सुझाव दिएको छ ।