आन्तरिक अतिथि सेवामा बलियो पकड बनाएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटेल लिमिटेड (एसआईएचएल) ले आतिथ्य सेवाबाट वार्षिक सञ्चालन आम्दानी बढाउँदै लगेको छ । ३ वर्षअघि २ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको एसआईएचएलले त्यसयताका वर्षहरूमा क्रमशः उक्त आम्दानी बढाउँदै लगेको देखिएको छ ।
- ३ वर्षअघि २ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको यो समूहअन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटेल लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ९ महीनामै उक्त आम्दानी २५ करोड ९० लाख रुपैयाँ पुर्याएको छ ।
चालू आव २०८१/८२ को ९ महीनामै उक्त होटेलले सञ्चालन आम्दानी २५ करोड ९० लाख रुपैयाँ पुर्याएको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटडले उल्लेख गरेको छ । होटेलले अल्प र दीर्घकालीन गरी कुल १ अर्ब २६ करोड ९१ लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो ।
सिद्धार्थ समूहअन्तर्गतको एसआईएचएलबाट अहिले पाँचतारे होटेल र सिद्धार्थ बुटिक होटेल सञ्चालनमा आएका छन् । रूपन्देहीको भैरहवामा सिद्धार्थ विलासा ब्रान्ड र काठमाडौंको बौद्धस्थित सिद्धार्थ बुटिक होटेलबाट एसआईएचएलले तारेस्तरको सुविधा दिइरहेको छ । सन् २०१४ मा प्राइभेट लिमिटेड कम्पनीबाट होटेल व्यवसाय शुरू गरेको कम्पनी सन् २०२४ को जुलाई १४ देखि पब्लिक कम्पनी लिमिटेडमा रूपान्तरण भएको छ ।
सिद्धार्थ इन्टरनेशनल होटेल लिमिटेडबाट सिद्धार्थ विलासा र सिद्धार्थ बुटिक होटेल सञ्चालनमा छन् । सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीको सिद्धार्थ चेनअन्तर्गत १४ ओटा होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । बौद्ध र भैरहवाका होटेल भने स्थानको हिसाबले रणनीतिक छन् । यी दुवै स्थान ऐतिहासिक सम्पदा, प्रकृति र संस्कृतिका हिसाबले महत्त्वपूर्ण हुनुलाई होटेलको बलियो पक्षको रुपमा चित्रित गरिएको छ ।
काठमाडौंको सिद्धार्थ बुटिक होटेल राजधानी उपत्यकाको पर्यटकीय हब मानिने बौद्धमा छ । उपत्यकाका पर्यटकीय आकर्षणका प्रमुख केन्द्रहरू बौद्धनाथ स्तुपा, चाँगुनारायाण मन्दिर, नगरकोट, स्वयम्भूनाथका साथै दरबार क्षेत्रजस्ता स्थान नजिकै रहेकोले यो होटेलले स्थानको लाभ लिन सक्ने बलियो आधार देखिएको रेटिङ एजेन्सीले उल्लेख छ ।
भैरहवामा रहेको सिद्धार्थ विलासा जुलाई २०२३ मा सफ्ट लन्च भएको होटेल हो । यसको व्यावसायिक सञ्चालन सन् २०२३ को अक्टोबरमा शुरू भएको हो । सिद्धार्थ विलासा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक हिसाबले महत्त्वपूर्ण लुम्बिनीमा छ । लुम्बिनी गौतमबुद्धको जन्मस्थान भएकाले यहाँ उल्लेख्य संख्यामा विदेशी र स्वदेशी पर्यटक पुग्छन् ।
यसका अलावा सिद्धार्थ समूहले देशका प्रमुख शहरहरूमा नौओटा रेस्टुराँ तथा क्याफे व्यवस्थापन गर्दै आएको छ । सिद्धार्थ ब्रान्डमा समूहले काठमाडौं, चितवन, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, कैलाली, झापा, विराटनगर, महेन्द्रनगर, कपिलवस्तु र लमहीमा रेस्टुराँ र क्याफेको व्यवस्थापन गरिरहेको छ । समूहको अध्यक्ष २ दशकदेखि अतिथि सत्कार सेवामा सक्रिय चिन्तामणि (लक्ष्मण) न्यौपाने छन् । यस्तै २ दशकदेखि यही सेवामा संलग्न इन्द्रलाल न्यौपाने समूहको प्रबन्ध निर्देशक छन् ।