म्याग्दी । म्याग्दीमा यस वर्ष भीरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत थोरै मह उत्पादन भएको मह शिकारीहरूले बताएका छन् ।
अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका मह शिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष १ हजार लीटर मह निकालिएकोमा यसपालि २०० लिटर मात्र मह उत्पादन भएको बताए । पाइजाको टोलीले स्वाँत गाउँनजिकै रहेको छहरीभीर र छिसको टाउकोमा दुई दिन मह शिकार गरेका थिए ।
हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले उत्पादन कम भएको पाइजाले बताए । म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाको लेकाली क्षेत्रमा भीरपहरामा जेठमा मह शिकार गर्ने चलन छ ।
वसन्त र शरद् ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भीरमह निकाल्न उपयुक्त समय हो । गत वर्ष २ हजार लिटर मह निकालेको धौलागिरि गाउँपालिका–२ खोरीयाका मह शिकारी मोतीप्रसाद पाइजाको टोलीले यस वर्ष ५०० लिटरमात्र निकालेको छ ।
धौलागिरिको गुर्जा, मुदी, रघुगङ्गाको चिमखोला, कुइनेमङ्गले, अन्नपूर्णको हिस्तानमा रहेका भीरमा मह शिकार गर्न गएका शिकारी टोलीहरूले पनि मह उत्पादन घटेको बताएका छन् । खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बीचमा भीरमौरीको वासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फूल भीरमौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भीरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइँसराइ गर्छन् ।
डोरीको सहायताले डरलाग्दो भीरमा झुन्डिएर निकालिने भीरमह प्रतिलिटर रु ३ हजारदेखि रु ३ हजार ५०० का दरले भीरमह बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवर्द्धक मानिने भीरमह धार्मिक कार्यमा पनि प्रयोग हुन्छ ।
विदेश गएका र शहरमा बस्नेहरुले भीरमह कोसेलीका रुपमा लैजाने गर्छन् । भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (पराङ) मा झुन्डिएर मह शिकार गर्ने गर्दछन् । मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा पराङ) झुन्ड्याउँछन् भने भीरको तलपट्टी रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।
महको चाका वरिपरि मौरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिए पछि मौरी भाग्छन् । त्यतिवेला मह निकाल्न विशेष ध्यान पुर्याउनुपर्छ । जब पराङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्न शुरु गर्छन् मौरीले टोक्ने डरले वरपरका सबै शिकारी रूख र ओडारमा लुक्छन् ।
मौरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य शिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । रासस