काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाउने प्रयास गरिरहँदा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को पुनः संरचना प्रक्रिया भने अलपत्र परेको छ ।
सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को बजेटमा नेप्से पुनः संरचना गर्ने योजना सार्वजनिक गरे पनि पुनः संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा डेढ वर्षदेखि अलपत्र परेको छ ।
नयाँ स्टक एक्सचेन्जको अनुपतिपत्र र नेप्सेको पुनः संरचना सँगसँगै अघि बढाउन खोजेको बोर्डले हालै नेप्से पुनः संरचनाको प्रगति विवरण माग गर्दै पत्र पठाएको थियो ।
‘हामीले डेढ वर्षअघि नै पुनः संरचनाको प्रस्ताव गर्दै अर्थ मन्त्रालयमा पेश गरिसकेको जवाफ पठाइसकेका छौं,’ नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले भने । नेप्सेले २०८० मङ्सिर २८ गते अर्थ मन्त्रालयमा पुनः संरचनाको कार्ययोजना पठाएको थियो ।
नेप्सेको प्रस्तावमा पुनः संरचनाका लागि सर्वसाधारणमा शेयर विक्री गर्ने, विदेशी रणनीतिक साझेदार भित्र्याउने, असल संस्थागत सुशासन भएका स्वदेशी कम्पनीहरूलाई नेप्सेको शेयरमा सहभागी गराउने योजना उल्लेख छ । त्यसैगरी, पहिलो चरणमा कर्मचारीसहित सर्वसाधारणमा ५० करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने योजना नेप्सेको छ ।
नेप्सेले ३ अर्ब चुक्ता पूँजी पुर्याउने, त्यसको ३० प्रतिशत शेयर कर्मचारीसहित सर्वसाधारणमा जारी गर्ने र साविकका शेयरधनीको स्वामित्व ३३ दशमलव ३३ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्तालाई ३६ दशमलव ६७ प्रतिशत शेयर छुट्ट्याउने, विदेशी स्टक एक्सचेन्जलाई बढीमा १५ प्रतिशत र एउटा स्वदेशी संस्थागत लगानीकर्ता वा समूहलाई बढीमा ५ प्रतिशत शेयर प्रदान गर्ने योजना नेप्सेले अर्थमा पेश गरेको छ । १ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेप्सेमा हाल सरकारको ५८ दशमलव ६६ प्रतिशत शेयर स्वामित्व छ । सरकारपछि नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ११ दशमलव २३ प्रतिशत र कर्मचारी सञ्चय कोषको १० प्रतिशत शेयर स्वामित्व छ ।
त्यस्तै नेपाल राष्ट्र बैंकको ९ दशमलव ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको शून्य दशमलव ६० प्रतिशत शेयर स्वामित्व नेप्सेमा छ ।
नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न सरकारले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले पनि नेप्सेको पुनः संरचना गर्नुपर्ने सुझाव दिएको छ ।
त्यसअनुसार दुवै प्रक्रिया अघि बढाउने प्रयास बोर्डले गरेको बोर्डस्थित एक उच्च स्रोतले बतायो । एक साताअघि बसेको बोर्ड सञ्चालक समिति बैठकमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणको प्रस्ताव अध्यक्षले पेश गरे पनि सहमति नजुटेपछि अघि बढ्न नसकेको बोर्ड स्रोतले जानकारी दियो ।
नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेड गरी तीन कम्पनीको आवेदन परेको छ । यीमध्ये एक कम्पनीलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण हुनेछ ।
उक्त बैठकमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएबमोजिम बोर्डले जेठ २० गते उक्त प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।
उक्त प्रतिवेदनमा पनि नेप्से पुनः संरचनाका लागि सुझाव दिइएको छ, जसमा चुक्ता पूँजी, शेयर स्वामित्वको स्वरूप, सञ्चालक समिति, कारोबार प्रणालीलगायत विषयमा सुझाव दिइएको छ । अध्ययन समितिको सुझावमा के छ ?
चुक्ता पूँजी
अन्तरराष्ट्रिय स्तरको आधुनिक धितोपत्र कारोबार प्रणालीमार्फत कारोबार सेवा दिनुपर्ने आवश्यक भएको परिप्रेक्ष्यमा त्यसका लागि पर्याप्त हुने गरी न्यूनतम चुक्तापूँजी कायम गरेको हुनुपर्ने । हाललाई धितोपत्रसम्बन्धी कानूनले तोकेको न्यूनतम चुक्तापूँजी ३ अर्ब रुपैयाँ कायम गरेको हुनुपर्ने तथा यस्तो न्यूनतम चुक्तापूँजी बेलाबेलामा नियामक निकायले तोकेबमोजिम कायम गर्नुपर्ने शर्त तोक्नुपर्ने ।
शेयर स्वामित्व
नेप्सेको हालको शेयर स्वामित्वमा जनसहभागिता, पारदर्शिता र जवाफदेहिताको दृष्टिकोणमा चुक्ता पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारण (कर्मचारीसमेत) का लागि छुट्ट्याई नियमानुसार शेयर निष्कासन गरी शेयर संरचना परिवर्तन गर्नु उपयुक्त हुन्छ ।
सञ्चालक समिति
पुनः संरचनापश्चात् नेप्सेमा नेपाल राष्ट्र बैंकबाट एक जना र कम्तीमा एक जना महिलासहित कम्तीमा पाँच सदस्यीय सञ्चालक समिति रहनुपर्ने र स्वतन्त्र सञ्चालकहरूको बहुमत हुने व्यवस्था गरिनु उपयुक्त हुने । यसको लागि नेप्सेको प्रबन्धपत्र एवं नियमावलीमा आवश्यक संशोधन गर्नुपर्छ । सिडिएससीमा समेत नेप्सेको प्रमुख कार्यकारी अधिकृत अध्यक्ष रहने र कम्तीमा एक जना महिलासहित कम्तीमा पाँच सदस्यीय सञ्चालक समिति र स्वतन्त्र सञ्चालकको बहुमत रहने गरी व्यवस्था गर्न उपयुक्त हुन्छ ।
कारोबार प्रणाली
नेप्सेको कारोबार प्रणाली र बैंक इन्टिग्रेशनसम्बन्धी कार्य शीघ्र सम्पन्न गर्ने । सकेसम्म धेरै देशहरूले परीक्षण गरी प्रयोगमा ल्याएको अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त कारोबार प्रणाली स्थापना गर्नुपर्ने । कारोबार प्रणालीको अन्तरराष्ट्रिय प्रणाली सम्परीक्षक (सिस्टम अडिटर) बाट सम्पूर्ण पक्षहरू परीक्षण हुने गरी प्रणाली सम्परीक्षण (सिस्टम अडिट) गराई कारोबार प्रणालीलाई भरपर्दो एवं विश्वसनीय बनाउनुपर्ने ।
टीएमएस प्रणाली प्रभावकारी रूपमा सञ्चालनका लागि सदस्य दलाल व्यवसायीहरूलाई एप्लिकेशन प्रोसेसिङ इन्टरफेस (एपीआई) दिने र सदस्य दलाल व्यवसायीहरूले टीएमएसको व्यवस्थापन गर्ने, आदेश कार्यान्वयन प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण ब्याकअपको प्रभावकारी व्यवस्था हुनुपर्छ ।
सूचना प्रणाली
बजारमा विकसित अन्तरराष्ट्रिय स्तरमा मान्यताप्राप्त स्तरीय सूचना प्रविधि प्रणालीको स्थापना तथा विकास गर्ने । बजार अनुगमन र सुपरिवेक्षणका लागि सहज हुने, साइबर अपराध न्यूनीकरण गर्ने, गुनासोहरूको अनलाइन व्यवस्थापन गर्न सक्ने, लगानीकर्ता शिक्षा तथा तालिम कार्यक्रममा सूचनाप्रविधिको प्रयोग गर्न मिल्ने, बजारसम्बन्धी सूचना तथा जानकारीको केन्द्रीय व्यवस्थापन तथा सुरक्षा हुने गुणस्तरीय सूचनाप्रणाली लागू गर्नुपर्छ । यसको लागि शुरूमा निकै ठूलो धनराशी लगानी गर्नुपर्ने भए पनि दीर्घकालीन लाभका लागि त्यस्तो लगानी गर्ने तत्परता हुनुपर्छ ।
जनशक्ति
नेप्से र यसको भगिनी संस्था सिडिएससीमा काम गर्ने जनशक्ति योग्य र दक्ष हुनु जरुरी छ । यसको लागि विशेष गरी सूचनाप्रविधि, कम्प्युटर साइन्स, तथ्यांकशास्त्र, विज्ञानजस्ता विषयको शैक्षिक योग्यता भएका व्यक्तिलाई नियुक्तिमा प्राथमिकता पाउने खालको नीतिगत व्यवस्था गर्ने, कर्मचारीलाई कामसँग सम्बद्ध विषयमा निरन्तर तालिमहरूमा सहभागी गराई बजारको विस्तार, उपकरणको विविधता, बजारसम्बन्धी सूचना प्रविधिमा आएको परिवर्तन तथा संस्थाले प्रयोगमा ल्याएको सफ्टवेयर विनारोकटोक सञ्चालन गर्न सक्ने जनशक्तिको विकास गर्नु जरुरी छ । बजारबाट गुणस्तरीय जनशक्ति प्राप्त गर्न नेप्से र सिडिएससीमा काम गर्ने कर्मचारीको लागि आकर्षक सेवासुविधाको व्यवस्था गर्नुपर्छ ।
संस्थागत सुशासन तथा जोखिम व्यवस्थापन
असल संस्थागत सुशासनको अभ्यास स्थापित हुने र सम्भावित जोखिमलाई परास्त गर्न सक्ने व्यवस्थापकीय संरचना हुनु जरुरी छ । जोखिम व्यवस्थापनका लागि क्षेत्रगत रूपमा नेप्सेको भगिनी संस्थासमेत सञ्चालन गर्नु वाञ्छनीय हुन्छ ।
भौतिक संरचना
नेप्सेको हालको कार्यालय भवन धेरै पुरानो भइसकेकाले त्यसको उचित मर्मतसम्भार र विस्तारसमेत गर्नुपर्ने देखिन्छ । सम्भव भएसम्म क्षेत्रफल थप गर्नुपर्ने देखिन्छ । सिडिएससीले आफ्नो कार्यालय भाडाको भवनबाट आफ्नै भवनमा स्थानान्तरण गरी योजना बनाउनुपर्ने देखिन्छ ।
उपकरणमा विविधता
हाल नेपालको धितोपत्र बजारमा साधारणा शेयर, अग्राधिकार शेयर, बोन्ड तथा डिबेन्चर, सरकारी ऋणपत्र र सामूहिक लगानी कोष योजना जस्ता उपकरणहरू उपलब्ध छन् । पुनः संरचनापछिको नेप्सेमा अन्तरराष्ट्रिय बजारमा उपलब्ध कमर्सियल पेपर, ट्रेजरी नोट, डेरिभेटिभ्स, फ्युचर मार्केट, स्वाप, डिपोजिटरी रिसिप्ट, एक्सचेन्ज ट्रेडेड फन्ड, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट, मोडगेज एन्ड मोडगेज व्याक उपकरण, लेन्डिङ तथा बरोइङ, इन्ट्रा डे ट्रेडिङ, बैंक डिपोजिटर तथा इन्स्योरेन्स प्रोडक्टजस्ता नयाँ उपकरणहरू उपलब्ध हुने संरचना स्थापना गरी कारोबार गर्न सक्ने आवश्यक कार्यविधि बनाउने र उपकरणमा विविधता ल्याई लगानीकर्ताका लागि धेरैभन्दा धेरै अवसरहरू उपलब्धगराउनुपर्ने हुन्छ ।