काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ)बीच सहकार्य भएको छ ।
मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतापत्रमा नास आईटीका अध्यक्ष रिचन श्रेष्ठ र प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले हस्ताक्षर गरेका हुन् । नेपालको आईटी इकोसिस्टको विकास र प्रवर्द्धन गर्नका लागि ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र जनचेतनामा काम गर्ने गरी दुबा संस्थाबीच सहकार्य गरिएको छ ।
नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नेपालको आईटी उद्योगलाई बलियो बनाउन र सशक्तीकरण गर्न यो सहकार्य महत्त्वपूर्ण हुने बताए ।
यस्तै, प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले आईटी क्षेत्र र नागरिकबीचको खाडललाई कम गर्न नास आईटीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको जानकारी दिए । उनले डिजिटल इकोसिस्टमलाई अगाडि बढाउन यसले ठूलो भूमिका खेल्ने बताए ।
नास आईटी नेपालको गैर नाफामुलक संस्था हो, जसले नेपाली सफ्टवेयर र आईटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको छ ।
नवप्रवर्तन, सशक्तीकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति परैवीमा काम गर्दै आएको संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
प्रविधि पत्रकार मञ्च (टीजेएफ) सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को क्षेत्रमा लेख्ने पत्रकारहरूको गैर नाफामुलक छाता संगठन हो । संस्थाले आईटीमा लेख्ने पत्रकारहरूको क्षमता अभिवृद्धिमा काम गर्दै आएको छ ।