असोज १२, जनकपुरधाम । धनुषा जिल्लाका ग्रामीण क्षेत्र सहित सदरमुकाम जनकपुरका सडकहरुको सुधार र स्तरबृद्धिका लागि भनेर सरकारले वार्षिक अर्बौं रुपैयाँ लगानी गरेपनि सरकारको लगानी प्रभावकारी बन्न सकेको छैन ।
सरकारले जनताको सुविधाका लागि भनेर धनुषाका सडकहरुमा पठाएको पैसा सम्बन्धित कार्यालय र जिम्मेवारी लिएका व्यक्तिहरुको गैरजिम्मेवारका कारण सरकारले उपलब्ध गराएको बजेट राम्रोसँग उपयोग गर्न नसक्दा जिल्लाको सदरमुकाम सहित ग्रामीण जनता कष्ट भोग्न बाध्य छन् । जिल्ला विकास समिति धनुषा, हुलाकी राजमार्ग आयोजना योजना कार्यालय जनकपुर, सडक डिभिजन कार्यालय जनकपुर, शहरी विकास तथा भवन कार्यालय, जनकपुुर उपमहानगपालिका सहितका कार्यालयले सडकको सुधार तथा निर्माणका लागि भनेर करोडौं रुपैयाँ खर्च गरेर विभिन्न योजनाहरु त सञ्चालन गरिएको छन् तर ती योजनाहरुको मापदण्ड अनुरुपको निर्माण, निरन्तर अनुगमन र उपभोक्ताहरुसँग समन्वय गर्न नसक्दा जनताका लागि भनेर सञ्चालन गरिएका योजनाहरु कागजमा मात्र सिमित हुन पुग्दा सर्वधारणलाई आवतजातमा कष्ट बेहोर्नु परिहेको स्थानिय रंजित चौधरी गुनासो गर्छन् ।
अर्बौं रुपैयाँ खर्च गरेर निर्माण, मर्मत तथा स्तरबीच गरिएका धनुषाका सदरमुकाम सहित ग्रामीण सडकहरु महीनौदेखि अवरुद्ध हुँदा समेत सम्बन्धित निकायको ध्यान जान नसक्दा चाडपर्वको समयमा स्थानीय बासिन्दालाई सास्ती छ । पूर्वी धनुषाको नाथपट्टी गाविसका युवा अभियान्ता रविन्द्र अरगडिया भन्छन्—‘ गाउँका विरामीहरुलाई उपचारका लागि सदरमुकाम आउन तथा खाद्यान्न र मालसामान ढुवानीमा समेत समस्या देखिएको छ ।’ असारदेखि नै अवरुद्ध भएका धनुषाका पूर्वी क्षेत्रका ग्रामीण सडकहरु तीन महीना वितिसक्दा समेत पनि सञ्चालनमा आउन नसकेपछि स्थानीयहरुले गुनासो गरेका छन् । कमसल निर्माण र हिलोका कारण अवरुद्ध सडकहरुको मर्मतमा सम्बन्धित निकायले ढिलाई गर्दा सर्वसाधारणले दुःख पाएको नेविसङ्घका केन्द्रिय सदस्य तथा जिल्ला सभापति शिवशंकर गोईत(साधु) ले सुनाए ।
धनुषाका जनकपुर—यदूकूहा, जनकपुर—कपटौल—तीनकौरिया हुँदै कमला नदिसम्म, जमुनिवास—कुसुमविसौना—शान्तिपुर—कुर्था, जनकपुर—जटही, विरेन्द्र बजार—महिनाथपुर, पुष्पवलपुर—दिगम्बरपुर सहित अधिकांश ग्रामीण सडकहरु मर्मत हुन नसक्दा सिधा यातायातका साधनहरु सञ्चालन हुन सकेका छैनन् । पूर्वी धनुषाको व्यापारीक केन्द्र यदूकुहा बजार जिर्ण सडकका कारण आवतजावतमा समस्या भई महङ्गी र असुविधानको बजारका रुपमा परिणत भएको अध्यक्ष गोईतले बताए । ग्रामीण सडकहरुमा सदरमुकामसँगको सिधा यातायातका साधनहरु सञ्चालन हुन नसक्दा धनुषाका ७१ गाविसका साथै छिमेकी जिल्लाका सर्वसाधारणहरुलाई सदरमुकाम आउजाउ गर्ने यात्रीहरु समेत सास्ती खेप्नु परेको सेभ द हिस्टोरिकल जनकपुरका अध्यक्ष रामअशिष यादवले बताए । जिल्लाको पूर्वी क्षेत्र मात्रै होईन, उत्तरी र दक्षिणी धनुषाको अवस्था पनि उस्तै रहको पाईएको छ । धनुषा जिल्लामा कच्ची सडक सुधारका लागि आर्थिक वर्ष २०७२/७३ करोडौं रुपैयाँ खर्च भएको छ । तर उक्त लगानीबाट सञ्चालित योजनाहरु प्रभावकारी हुन सकेका छैनन् । समयमै काम शुरु नहुने, कमसल निर्माण सामग्री प्रयोग र डुब्लिकेसनका कारण कतिपय योजनाहरु त अन्योलमा परेको सरोकारवालाहरुले बताएका छन् । जिविस धनुषा, सडक डिभिजन कार्यालय, शहरी तथा भवन डिभिजन कार्यालय, नगरपालिकाहरुले कमिसनका लागि ठेकेदार तथा उपभोक्ताहरुले गरेको काम र विल भरपाईको आधारमा भुक्तानी दिने गरेकाले यस्तो अवस्था आएको सरोकारवालाहरुको भनाई छ । योजनाहरुमा पारदर्शीताको अभाव पनि उतिकै रहेको रहेको जिविसका एक कर्मचारीले स्वीकारे ।
सडक सुधार तथा निर्माणका लागि ठेकेदारलाई ठेक्का दिने, मिलेर कमिसन खाने, अनुगमन पनि नगर्ने, पारदर्शिता पनि नचाहिने अनि कसरी हुन्छ त सडकको अवस्थामा सुधार ? जिल्ला विकास समिति धनुषाको परिसरमा भेटिएका धनुषा बेंगाडाबर वडा नं.१ कुसुमविसौनाका मनोज महतोले आक्रोशित हुँदै भने— ‘सडकमा सुधार हुनका लागि सबैभन्दा पहिले सम्बन्धित कार्यालय र तिनका कर्मचारीहरुको मानसिकतामा सुधार हुन आवश्यक छ । कार्यालय र कर्मचारीहरुको कमिसनका कारण गुणस्तर काम हुन सकेको छैन ।’
कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाका अनुसार आव २०७२/७३ मा धनुषाको विकासका लागि विनियोजित ८ अर्ब ५३ करोड ४५ लाख २७ हजार ७ सय ५८ रुपैयाँमध्ये ७ अर्ब ५५ करोड ८६ लाख १८ हजार ६ सय ८६ रुपैयाँ खर्च भएको छ । कार्यान्वनमा नआएपछि ९७ करोड ५९ लाख ९ हजार ७२ रुपैयाँ फ्रिज भएको छ । तर जिल्लाका सडक योजनाहरुमा प्रभावकारी रुपमा काम सम्पन्न हुन नसक्दा लक्ष्य अनुरुपको उपलब्धी नदेखिएको अध्यक्ष यादवको गुनासो छ ।
सदरमुकामकै सडक हिलाम्य र जिर्ण
धनुषा जिल्लाको सदरमुकाम जनकपुरका अधिकांश सडकहरु हिलाम्य र जिर्ण बनेका छन् । जनकपुर उपमहानगरपालिका भित्रका सडकहरुको मर्मत सम्भार तथा निर्माणमा करोडौं खर्च भएपनि अहिले नगरको मुख्य सडकबाट सर्वसाधारणहरुलाई आउजाउ गर्न निकै सास्ती खेप्नु परेको छ ।
जनकपुरको भानु चोक—कदम चोक—जिल्ला प्रशासन कार्यालय हुँदै मुरली चोक—विश्वकर्मा चोक—भ्रमरपुरा चोक, पिडारी चोक—थापा चोक—जचुकालि गेट हुँदै मिल्स एरिया—भानु चोक, सिता चोक—पुल चोक सहितका सडक खण्डमा पछिल्लो एक वर्षमा तीन पटक मर्मत सम्भार गरिएको छ । तरपनि उक्त सडक खण्डबाट सर्वसाधारणहरुलाई हिंडडुल गर्न समस्या बेर्होनु परेको स्थानीय अजित झाले बताए ।