काठमाडौँ । भारतले कच्चा र खाने तेल आयातमा लगाउँदै आएको भन्सार महशुलमा १० प्रतिशतले कटौती गरेको छ । यसबाट भारतीय तेल प्रशोधन उद्योगलाई फाइदा पुग्नेछ भने नेपालबाट हुने प्रशोधित खाने तेलको निर्यात प्रभावित हुने देखिएको छ ।
नेपालका लागि भने भारतले कच्चा खाने तेलमा महशुल घटाउनु सुखद हुने छैन । चालू आर्थिक वर्षको १० महिनामा नेपालले गरेको सवा २ खर्बको निर्यातमा खाने तेलको हिस्सा करीब करीब आधा थियो । नेपालबाट सोयाबिन तेल ७८ अर्ब ७५ करोड‚ सूर्यमुखी तेल १० अर्ब ९ करोड र पाम आयल १ अर्ब गरी ८९ अर्ब ८४ करोड रुपैयाँ बराबरको खाने तेल भारत निर्यात भएको थियो ।
यसबाट भारतमा प्रशोधित खाने तेलको मूल्य घट्ने अपेक्षा गरिएको छ भने विदेशबाट आउने पाम‚ सोयाबिन र सूर्यमुखीको कच्चा तेलको आयात बढ्ने अपेक्षा छ ।
भारत सरकारले एक सूचना जारी गर्दै पाम‚ सोयाबिन र सूर्यमुखीको कच्चा तेल आयातमा लगाउँदै आएको २० प्रतिशत भन्सार महशुल कटौती गरी १० प्रतिशतमा झारेको जनाएको हो ।
भन्सार महशुल कटौतीपछि अब तीनओटै कच्चा खाने तेलको आयातमा लाग्ने कुल महशुल २७ दशमलव ५ प्रतिशतबाट घटेर १६ दशमलव ५ प्रतिशतमा झर्नेछ । यस्तो आयातमा भारतले भन्सार महशुलबाहेक पनि कृषि पूर्वाधार विकास र सामाजिक कल्याणलगायत शीर्षकमा शुल्क लगाउँदै आएको छ ।
भारतले कच्चा खाने तेलमा भन्सार घटाएपछि भारतका खाने तेल प्रशोधकहरूको एउटा समूहले यसबाट तेलहन उत्पादक भारतीय किसान मर्कामा पर्ने र आयात बढ्नुका साथै तेलहन र तेल उत्पादनमा आत्मनिर्भर हुने सरकारको लक्ष्यमा धक्का लाग्ने बताएको छ भने अर्को समूहले यसबाट घरेलु/स्वदेशी प्रशोधन उद्योगले प्रोत्साहन पाउने बताएको छ ।