काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी असार १ गतेदेखि एकीकृत कारोबार सुरू गर्दै छन् । गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्नका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले चैत १३ गते अन्तिम सम्झौता गरेका थिए ।
प्राप्तिपश्चात् डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार शुरू गर्न लागेको जानकारी कम्पनीले दिएको छ । प्राप्तिपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय चितवन, भरतपुरमा रहने जानकारीसमेत कम्पनीले दिएको छ । यी दुई कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
दुवै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । यस वर्ष आदर्श लघुवित्तले २० प्रतिशत र डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेका छन् ।
आदर्श लघुवित्तले रू. २ करोड ७ लाखको आधारमा २० प्रतिशत बोनस शेयर र डिप्रोक्स लघुवित्तले १ अर्ब ३८ करोड ७४ लाख ९८ हजारको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएका हुन् ।
डिप्रोक्स लघुवित्तको बोनसपछि चुक्तापूँजी रू. १ अर्ब ५२ करोड ६२ लाख ४८ हजार र आदर्श लघुवित्तको चुक्तापूँजी रू. २ करोड ४८ लाख ४० हजार पुग्नेछ । समान हैसियतमा एक भएपछि बन्ने नयाँ कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५५ करोडभन्दा माथि पुग्नेछ ।