जेठ १४ मा संविधान आए पनि नआए एउटा कुरो भने आइसकेको छ । त्यो हो, हातहातमा लाठो, मुङ्ग्रो, हँसिया, हथौडा, मशाल लिएर देशभर हामीलाई छुट्टै राज्य चाहिन्छ भन्नेहरूको जुलुश र हामीले माग गरेअनुसारको प्रदेश दिइएन भनेर विभिन्न समूहले देशभरि कलह शुरू गर्ने धम्की । त्यसले भोलि गृहयुद्धकै रूप लेला वा नलेला भन्न सकिन्न । त्यस महासंग्रामबाट देशलाई बचाउने उपाय छ । त्यो हो : पृथ्वीनारायण शाहले एकीकृत गर्नुअघिको अवस्थामा नेपाललाई विकेन्द्रित गर्नु ।
पृथ्वीनारायणले बिनाकाममा नेपाललाई एकीकरण गरिदिएका रहेछन् । उनले त्यसो नगरिदिएको भए अहिले नेपाल राजारजौटाको धनी देश हुने रहेछ । जे होस् नेपाललाई बाइसे चौबीसेसमेत गरेर उतिबेला जस्तै सयौं प्रदेशमा विभाजित गर्नुपर्छ । नभए पूर्वप्रम शेरबहादुर देउवाले सुझाव दिएजस्तै हालका ७५ जिल्लालाई नै प्रदेश भनिदिनुपर्छ । त्यति गर्दिने हो भने सुकुम्बासीदेखि हुकुम्बासी मोर्चा, माओवादीका दुई, एमालेका, तीन, कांग्रेसका चार, मधेशवादीका अनगिन्ती सबै गुट–उपगुटले माग गरेजति राज्य प्राप्त गर्ने छन् । यति गरेपछि देशमा लफडा, झगडा सबै निमिट्यान्न भइहाल्नेछ र देश विकासको गतिमा दौडनेछ ।
देशमा अहिले एकीकरण चाहिएकै होइन । अहिले त प्राय: सबैलाई विखण्डन, विकेन्द्रीकरण संघीयता सँगै चाहिएको छ । यूरोपियन देशका नेताहरूको बुद्धि बिग्रिएर साझा मुद्दा, साझा आर्थिक मञ्च बनाएर विकास गर्ने कुरा गरेका छन्, त्यो नेपालमा सुहाउँदैन । नेपाललाई त हरेक जाति, भाषी, वर्गअनुसार टुक्र्याउनुपर्छ ।
तर, प्रदेश भागबण्डा गर्दा भने अलि विचार पुर्याउनु पर्दछ । एउटा दलमा जति पनि राजा रजौटा हुने योग्यता राख्दछन्, ती सबैलाई प्रदेश छुट्याइदिनु पर्दछ ।
(तीतोमीठोबाट)
वर्ष ६, अंक २३७, शुक्रवार, २९ वैशाख, २०६९