काठमाडौं । सरकारले निजामती कर्मचारीको महँगी भत्ता बढाएको छ ।
बिहीवार (आज) संघीय संसदका दुवै सदनको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (आव)को बजेटमा सरकारी कर्मचारीको महँगी भत्ता ३ हजार रुपैयाँ बढाएर ५ हजार रुपैयाँ पुर्याइने उल्लेख छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले स्रोत अभावका कारण कर्मचारीको तलब बढाउन सम्भव नभएको जानकारी दिए ।
सरकारले यसअघि तीन वर्षअघि कर्मचारीको तलब बढाएको थियो । आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो ।
कर्मचारीको तलब बढेको तीन वर्ष भएकाले यो वर्ष तलब बढ्ने अपेक्षा गरिएको थियो । निजामती सेवा ऐन, २०४९ को दफा २७ को १ (ख) मा प्रत्येक तीन वर्षमा कर्मचारीको तलब, भत्ता पुनरावलोकन गर्नुपर्ने उल्लेख छ ।
ऐनमा भनिएको छ, 'तलब, भत्ता पुनरावलोकन समितिले प्रत्येक वर्ष उपभोक्ता मूल्य सूचीको आधारमा महँगी भत्ता निर्धारण गरी नेपाल सरकार समक्ष सिफारिस गर्नेछ। सो समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी सङ्ख्या र विगत तीन वर्षमा मूल्य सूचीको आधारमा प्रदान गरिएको महँगी भत्ता समेतलाई आधार बनाई तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नेछ। सो समितिले अन्य कार्यविधि आफैले तय गर्न सक्नेछ ।'