भारत । बंगाल क्षेत्रमा विध्वंशकारी चक्रवात 'दाना'को पूर्वानुमानपछि सरकारले ३०० भन्दा बढी हवाई उडान रद्द गरेको छ । भुवनेश्वर र कोलकाताका विमानस्थलहरूमा करीब ३०० उडान रद्द गरिएको छ।
चक्रवातको पूर्वानुमानपछि ५५२ रेल सेवामा असर परेको छ। यही कारण साउथ इस्टर्न रेलवे, इस्ट कोस्ट रेलवे, इस्टर्न रेलवे र साउथ इस्ट सेन्ट्रल रेलवेका प्रमुख ट्रेनहरू समेत प्रभावित भएका छन् ।
ओडिशा राज्यका १४ जिल्लाबाट करीब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतीय मौसम विभागका अनुसार चक्रवातको प्रभावले पश्चिम बंगालमा पनि भारी वर्षा गराउने सम्भावना छ ।
चक्रवात 'दाना' आज राति ओडिशाको तटमा ठोक्किने अपेक्षा गरिएको छ । यस समयमा प्रभावित क्षेत्रमा तीव्र हावा र भारी वर्षा भइरहेको छ। ओडिशाको भद्रक जिल्लामा हावाहुरीसहित वर्षा शुरु भइसकेको छ भने पश्चिम बंगालको दीघा समुद्री तटमा अग्ला छालहरू उठिरहेका छन् ।
यो चक्रवात बंगालको खाडीबाट उत्पन्न भएको हो, जुन राति करीब २ बजे ओडिशाको तटमा ठोक्किने अनुमान गरिएको छ । यसको प्रभाव पश्चिम बंगाल र अन्य राज्यहरूमा पनि पर्नेछ ।
तटीय क्षेत्र धमरामा अहिले हावा ७० किलोमिटर प्रतिघण्टाको गतिमा बगिरहेको छ । चक्रवात ओडिशाको भितरकनिका राष्ट्रिय निकुञ्ज र धमरा बन्दरगाह नजिकै अवतरण गर्ने अपेक्षा गरिएको छ ।
भुवनेश्वर मौसम विज्ञान केन्द्रका अनुसार चक्रवातको असर झण्डै ५ घण्टासम्म रहनेछ । चक्रवातको समयमा हावाको गति प्रतिघण्टा १२० किलोमिटरमा पुग्न सक्छ । तटीय क्षेत्रमा २० देखि ३० सेन्टिमिटरसम्म वर्षा हुने सम्भावना छ।
पुरीको जगन्नाथ मन्दिरका अस्थायी टेन्टहरू हटाइएका छन् भने कोणार्क मन्दिरलाई दुई दिनका लागि बन्द गरिएको छ । ओडिशा सरकारले राष्ट्रिय विपद् राहत बल, ओडिशा डिजास्टर रिलिफ फोर्स र फायर ब्रिगेडका २८८ टोली तैनाथ गरेको छ ।
चक्रवात प्रभावित १४ जिल्लाका विद्यालय, कलेज र पर्यटन स्थलहरूलाई २५ अक्टोबरसम्मका लागि बन्द गरिने छ। ओडिशा उच्च अदालतलाई पनि बन्द गरिएको छ । एजेन्सी