नेपाल र चीनबीच सन् २०१७ मा बेल्ट एन्ड रोड (बीआरआईं का परियोजनामा लगानी गर्ने विषयमा सम्झौता भए पनि नेपालमा यस परियोजनाअन्तर्गतका कुनै पनि काम अघि बढ्न सकेको पाइँदैन । आइतवार आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बीआरआईबारे चीन र नेपालको बुझाइमा केही फरक रहेको र यस्तो असमझदारी चाँडै हट्ने बताएका छन् । तर, त्यसअनुसार पहल भने केही पनि भएको देखिंदैन ।
नेपालभन्दा पछि बीआरआईमा सम्झौता गरेका केही मुुलुकले यसअन्तर्गत पूर्वाधारका काम अघि बढाएका छन् । यसले कतिपय मुलुकको अर्थतन्त्रमा सकारात्मक असर पार्न थालिसकेको छ भने कतिपय मुलुकमा समस्यासमेत देखिएको छ । तर, नेपालमा भने चिनियाँ प्रतिनिधिमण्डल आउँदा यसमा प्रतिबद्ध रहेको बताउने र चीनले कार्यान्वयनका लागि आग्रह गर्नेभन्दा अरू कुनै प्रगति भएको देखिन्न । यसो हुनुमा नेपालले चीनलाई आफ्नो प्राथमिकता र नीतिमा स्पष्ट पार्नु नसक्नु नै प्रमुख कारण देखिन्छ ।
सर्वप्रथमत: नेपालको राजनीतिक द्वन्द्वमा भूराजनीतिक प्रभाव देखिन थालेको छ । पूर्वाधारहरू पनि भूराजनीतिक द्वन्द्वको शिकार हुन थालेका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल यसको उदाहरण हो । यसले नेपालको कूटनीतिक सामर्थ्य कमजोर बन्दै गएको देखाउँछ ।
नेपालले के चाहेको हो भन्नेमा नेपाल आफै स्पष्ट नभएसम्म विदेशी सहयोगले काम गर्दैन भन्ने पुष्टि भएको छ । त्यसैले नेपालले चाहेको के हो त्यो स्पष्ट हुनुपर्छ र त्यसमा राष्ट्रिय एकता हुनुपर्छ ।
नेपालले चीनसँग बीआरआईका लागि सम्झौता गरेजस्तै अमेरिकासँग एमसीसी सम्झौता गरेको छ । एमसीसी सम्झौता कार्यान्वयनको चरणमा छ । अमेरिका र चीनले अर्कोको परियोजना रोक्न भरमग्दुर गरिरहेका छन् । तर, नेपालले सम्बद्ध सबै देशलाई के स्पष्ट पार्नुपर्छ भने नेपालको विकासका लागि सबै मुलुकको सहयोग आवश्यक पर्छ र लिन्छ पनि । नेपाल कुनै पनि मुलुकको हितविरुद्ध प्रयोग नहुने तर आफ्नो प्रगतिका लागि सबैसँग सहयोग लिने नीतिमा रहेको स्पष्ट पार्न नसक्दा समस्या भएको देखिन्छ । पञ्चायत कालमा रूस, अमेरिका, चीन, जापान भारत सबैसँग नेपालले सहयोग लिएको थियो । तर, अहिले परिस्थिति केही फरक छ । चीनसँग नेपालको सम्बन्ध विशेष र हार्दिक भनिए पनि समस्या प्रशस्त छन् । त्यस्तै अवस्था भारतसँग पनि रहेको छ । तर, सर्वसाधारणमा दुवै देशप्रति समान दृष्टिकोण पाइँदैन, दुवैलाई समदूरीमा राखेर सोच्ने प्रवृत्ति कम पाइन्छ । त्यसकै कारण नेपाल भूसामरिक स्वार्थको द्वन्द्वमा फस्न सक्ने देखिएको छ ।
बीआरआईबाट सहयोग लिएर नेपालले पूर्वाधार निर्माण गर्नुपर्छ भन्नेमा सबैको एकमत रहेको छ । तर, चीनसँग ऋण लिएर काम गर्न भनेर सबै दलहरू हच्किएको अवस्था छ । चीनले लिने ऋणको ब्याज अन्य दातृ संस्थाको दाँजोमा निकै महँगो छ । चीनसँग सहुलियत ब्याजदरमा ऋण लिएर किनिएको चिनियाँ विमान अहिले नेपाललाई घाँडो भएको छ । यसो हुँदा चीनको ऋणसँग नेपाल अलिक डराउनु स्वाभाविक हो ।
बीआरआईअन्तर्गत केरुङ–काठमाडौं रेलवे निर्माण गर्न नेपालले चीनलाई आग्रह गरेको छ । उसले अनुदानमा यसको विस्तृत अध्ययन गराएको छ । तर, ब्याजमा लिएर यो परियोजना बनाइयो भने त्यो नेपालको अर्थतन्त्रले थेग्न नसक्ने विश्लेषण कतिपयको रहेको छ । त्यसैले चीनले अनुदानमा बनाइदेओस् वा ब्याजदरमा निकै सहुलियत प्राप्त होस् भन्ने नेपालका विचार रहेको पाइन्छ । तर, त्यसअनुसार नेपालले चीनलाई आश्वस्त पार्न भने सकेको छैन । चीनले पोखरा विमानस्थललाई बीआरआईअन्तर्गत हो भनेर थप विवाद पैदा गरिदिएको छ जब कि यो विमानस्थलका लागि ऋण सम्झौता हुँदा बीआरआईमा नेपालले हस्ताक्षर नै गरेको थिएन ।
बीआरआई नेपाललाई चाहिन्छ तर त्यसका परियोजना र कर्जाको ब्याजदरबारे भने नेपाल विशेष सचेत हुनैपर्छ । कहिले चीनको एकदम नजिक देखाउने र कहिले टाढा पुग्ने नेपाल सरकारको अपरिपक्व कूटनीतिले पनि बीआरआई प्रभावित भएको हो भन्ने देखिन्छ । नेपालले के चाहेको हो भन्नेमा नेपाल आफै स्पष्ट नभएसम्म विदेशी सहयोगले काम गर्दैन भन्ने पुष्टि भएको छ । त्यसैले नेपालले चाहेको के हो त्यो स्पष्ट हुनुपर्छ र त्यसमा राष्ट्रिय एकता हुनुपर्छ ।