विराटनगर (अस) । चामलको बोराभित्र चिनी राखेर लेबलसमेत नलगाई विक्री वितरण गर्ने विराटनगर महानगरपालिका–६ केसलिया रोडको एउटा पसललाई अनुगमन टोलीले २ लाख रुपैयाँ जरीवाना गरेको छ । बुधवार बजार अनुगमनका क्रममा पुगेको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा चामलको बोराभित्र चिनी देखेपछि सोधखोज गर्दा १७ बोरा चिनी फेला पारेको थियो, जसमध्ये दुई बोरा खोलेर विक्री वितरण भइरहेको भेटेपछि अनुगमन टोलीले जरीवाना गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलले अनुचित व्यापारिक क्रियाकलाप भएको पाइएपछि पसलका सञ्चालक राहुलकुमार साहलाई उक्त जरीवाना गरिएको बताए । पसलको नामसमेत नराखी सञ्चालन गरिएको उक्त किराना पसलमा अधिकांश सामग्री भारतीय बजारबाट आएको र त्यसको खरीद बिल नभएको अनुगमनका क्रममा पाइएको थियो ।
चामलको बोराभित्र चिनी राखेर प्याकिङ गरेको र उक्त बोरामा लेबलिङसमेत नभेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अनुसार पसल सञ्चालकलाई जरिवाना गरिएको हो । पसलमा विक्रीका लागि राखिएको छोगडा लगायत खाद्यवस्तु समेत प्रदूषित पाइएको थियो ।
यसअघि सोही स्थान नजिककै रहेको अर्को पसलमा अनुगमन गर्दा पसल सञ्चालक साह सटर लगाएर लुकेको अनुगमन टोलीले बताएको छ । यसैगरी बिग्रिएको मिठाइ बेच्ने सुनसरीको इटहरीस्थित विष्णु मिष्ठान्न भण्डारलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
वाणिज्य कार्यालयका निमित्त प्रमुख पोखरेलले गोर्खा डिपार्टमेण्ट स्टोरको माथि रहेको गोर्खा किचनको खाद्यवस्तु पकाउने ठाउँमा थप सरसफाइ गर्न अनुगमन टोली निर्देशन दिइएको बताए । इटहरीमै रहेको नटराज स्वीट एण्ड चाट हाउसलाई पकाउने ठाउँ र भाँडा माझ्ने ठाउँको सरसफाइ गर्न निर्देशन दिइएको थियो ।