काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको कम्पनी सीजी हस्पिटालिटीले आगामी ५ वर्षमा भारतमा ३८० होटल तथा रिसोर्ट निर्माण गर्ने भएको छ ।
बिहीवार सार्वजनिक गरिएको सम्झौताअनुसार मेरियट र सीजी हस्पिटालिटीको कन्सेप्ट हस्पिटालिटीले द फर्न होटेल चेनको व्यवस्थापनमा होटल तथा रिसोर्ट सञ्चालन गर्नेछ । हाल द फर्नले भारतमा १२० भन्दा बढी होटल सञ्चालन गरिरहेको छ।
‘यस साझेदारीमार्फत हामीले सन् २०३० सम्म द फर्नलाई ५०० होटलसम्म पुर्याउने लक्ष्य राखेका छौं । साथै सीजी होस्पिटालिटीको विश्वव्यापी उपस्थितिलाई ६५० होटेलसम्म विस्तार गर्ने योजना बनाएका छौं,’ सीजी कर्प ग्लोबल तथा सीजी होस्पिटालिटीका प्रबन्ध निर्देशक एवं सीईओ राहुल चौधरीले भने।
मेरियटले कन्सेप्ट होस्पिटालिटीमा करीब १५ करोड अमेरिकी डलर लगानी गर्ने उल्लेख गरिएको छ ।
‘यो सम्झौताले भारतमा मेरियटको नेतृत्वलाई उल्लेखनीय रूपमा मजबुत बनाउनेछ, जुन हाम्रो लागि एउटा प्रमुख वृद्धि बजार हो,’ मेरियट इन्टरनेसनलका अध्यक्ष एवं सीईओ एन्थोनी क्यापुआनोले भने।
चौधरीको सीजी हस्पिटालिटीले हाल १२ देशमा ताज, ताज सफारी, भिवान्ता जस्ता ब्रान्डहरूमार्फत १९५ होटल, रिसोर्ट, र वेलनेस गन्तव्यहरू सञ्चालन गरिरहेको छ।
कम्पनीले हालै फिलिपिन्सको मनिलाको दक्षिणमा रहेको ‘द फार्म एट सान बेनिटो’ लाई मेरियटको अटोग्राफ कलेक्सनमा समावेश गर्ने सहमति पनि गरेको छ। यो लक्जरी वेलनेस रिसोर्ट सन् २०२५ को तेस्रो त्रैमासिकमा खुल्ने लक्ष्य छ। चौधरीले यस्तै वेलनेस रिसोर्ट भारतमा पनि शुरु गर्ने चाहना व्यक्त गरेका छन्।
होटल उद्योगबाहेक, चौधरीले नेपालस्थित निजी स्वामित्वको नबिल बैंक र वाइ वाइ चाउचाउ बनाउने सीजी फुड्समा पनि लगानी गरेका छन्।
उनको कुल सम्पत्ति २ अर्ब अमेरिकी डलर (नेपाल राष्ट्र बैंकको आजको विनिमयदरअनुसार २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी) छ । उनी नेपालका एक मात्र खर्बपति हुन् । फोर्ब्सडटकमबाट