काठमाडौं । युनाइटेड सिमेन्ट्स लिमिटेड र धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा निःशुल्क रूपमा सञ्चालन गरिएको तीन महिने आधारभूत र दुई महिने एडभान्स् सिलाइकटाइ तालिम सम्पन्न भएको छ ।
२०८१ मंसिर १६ देखि २०८२ वैशाख २२ गतेसम्म चलेको तालिमका प्रशिक्षार्थीलाई गत बुधवार प्रमाणपत्र वितरण गरिएको छ । धुनिवेशी नगरपालिका वडा नं. ९ का ४२ जना महिलालाई उक्त तालिम दिइएको हो ।
महिलाहरूलाई आत्मनिर्भर बनाएर उनीहरूको आर्थिक सशक्तीकरणमा योगदान दिन तालिम आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरि कुमार उप्रेतीले यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पुर्याउने बताए । कम्पनीले व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ ।
सोही अवसरमा धुनिवेशी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति माधव प्रसाद सिलवालले सिलाइकटाइ तालिमले महिलाहरूको जीवनस्तर सुधार्न र आर्थिकरूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
सो कार्यक्रम धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।