काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनमा कर बढाउन सक्ने आशंकामा ती गाडीको आयात ह्वात्तै बढेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत चैतको तुलनामा वैशाखमा विद्युतीय सवारीसाधनको आयात दोब्बरभन्दा बढीले वृद्धि भएको हो । गत चैतमा ८७८ विद्युतीय गाडी भित्रिएकोमा वैशाखमा त्यो संख्या १८९२ पुगेको छ ।
आयात बढेसँगै चोभारको सुख्खा बन्दरगाहमा अहिले भन्सार जाँचपासका लागि राखिएका गाडी थुप्रिएका छन् । अहिले त्यहाँ एक हजारभन्दा बढी सवारीसाधन राखिएका छन् । तीमध्ये विद्युतीय सवारीसाधन बढी छन् ।
आयातकर्ताले चीनसँग जोडिएको तातोपानी र रसुवागढी नाकाबाट ठूलो संख्यामा त्यस्ता गाडी भित्र्याइरहेका छन् । रसुवागढी भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्रप्रसाद प्याकुरेलले दिनमै डेढ सय विद्युतीय गाडी रसुवागढी नाकाबाट भित्रिइरहेको बताए । तर, भन्सार विभागको वैशाख महीनाको तथ्यांकले दैनिक औसत ६३ गाडी भित्रिएको देखाउँछ ।
सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउन सक्ने भयले आर्यातकर्ताले ठूलो संख्यामा विभिन्न ब्रान्डका गाडी भित्र्याइरहेको भन्सार अधिकारीहरू बताउँछन् ।
रसुवागढी भन्सार कार्यालयका भन्सार अधिकृत प्याकुरेलले अहिले हजारभन्दा बढी गाडी भन्सार यार्डमा रहेको जानकारी दिए । ‘भन्सार जाँचपास गर्न व्यवसायीले आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले भने, ‘राजस्व पनि त्यस्ता गाडीको अलि बढी हुने भएकाले रकम व्यवस्था गर्न समय लगाउने गरेका छन्, त्यही भएर यार्डमा धेरै गाडी देखिएको हो ।’
तातोपानी भन्सार कार्यालयका अधिकारीहरू पनि नाकाबाट ठूलो संख्यामा विद्युतीय गाडी भित्रिइरहेको बताउँछन् । वैशाखमा मात्रै १ हजार १८ ओटा विद्युतीय सवारीसाधन तातोपानी भन्सारबाट जाँचपास भएको भन्सार अधिकृत सूर्य काफ्लेले आर्थिक अभियानलाई जानकारी दिए । उनका अनुसार विभिन्न ब्रान्डका माइक्रो बसदेखि चिनियाँ कारहरू नेपाल भित्रिइरहेका छन् ।
वैशाखसम्मको तथ्यांक हेर्दा तातोपानी नाकाबाट ३ हजार ९४७ विद्युतीय सवारीसाधन आयात भएको देखिन्छ । जेठ लागेसँगै आयातकर्ताले ठूलो संख्यामा विद्युतीय गाडी ल्याइरहेको भन्सार अधिकृत काफ्लेले बताए ।
‘जेठ १५ सम्म ५०० सय गाडी जाँचपास हुने अनुमान छ,’ उनले भने, ‘गाडीहरू अत्यधिक मात्रामा आइरहेका छन् । यार्डमा ५०० हाराहारी गाडी जाँचपास हुन बाँकी छ भने जाँचपास भएका २०० हाराहारी गाडी यार्डमै छन्, आयातकर्ताले लैजाने क्रम जारी छ ।’
यता, अर्थ मन्त्रालयका एक उच्च अधिकारीले यस वर्ष विद्युतीय गाडीमा लाग्ने भन्सार महशुल बढ्ने सम्भावना धेरै रहेको संकेत गरे । ‘वर्षमान पुनले धेरै दर घटाउँदा राजस्वले चालू खर्च धान्नसमेत मुश्किल पर्ने अवस्था आयो,’ अर्थ मन्त्रालयका ती अधिकारीले भने, ‘राजस्वको अरू स्रोत छैन, विद्युतीय गाडीमा टाइट गर्नैपर्छ ।’