काठमाडौं । चालू आर्थिक वर्षको १० महीनामा नेपालबाट हुने वस्तु निकासी उत्साहजनक रूपले बढेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गतवर्षको सोही अवधिको तुलनामा यो वर्ष १० महीनामा वस्तु निकासी ७२ दशमलव ७१ प्रतिशतले बढेको हो ।
वस्तु पैठारी भने पोहोरको तुलनामा १३ दशमलव ११ प्रतिशतले बढेको तथ्यांक छ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को साउनदेखि वैशाखसम्म १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । गतवर्ष १० महीनाको आयात १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबर थियो । यो वर्ष १० महीनामा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गतवर्ष यही अवधिमा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
निकासी बढाउने मुख्य वस्तु यो वर्ष पनि भटमासको तेल नै रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार वैशाखसम्ममा नेपालबाट ७८ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकमको भटमास तेल निकासी भएको छ । बढी निकासी भएका वस्तुको दोस्रो नम्बरमा सूर्यमुखी तेल छ । गत साउनदेखि वैशाखसम्मा नेपालबाट १० अर्ब ९ करोड रुपैयाँको सूर्यमुखी तेल निकासी भएको तथ्यांकले देखाएको छ ।
यस अवधिमा निकासीबाट अर्ब रुपैयाँभन्दा बढी आर्जन गर्ने वस्तुको संख्या ३ दर्जनभन्दा बढी देखिएको छ । यस अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँभन्दा बढी छ । यो अघिल्लो वर्षको तुलनामा ६ दशमलव ७२ प्रतिशतले बढी हो । १० महीनामा कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ नाघेको छ ।
सावतीका कार्यकारी निर्देशक पारस खरेलले भारतले कच्चा र प्रशोधित पाम, भटमासको तेलमा अन्य देशका लागि भन्सार दर बढी लगाउँदा नेपालबाट हुने निर्यात बढ्ने र फाइदा पनि हुने गरेको बताए । नेपालले साफ्टा सुविधाअन्तर्गत शून्य भन्सार दरमा भारतमा खानेतेल निकासी गर्छ ।