प्रजिता बुढाथोकी काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत उत्पादन तथा प्रशोधन क्षेत्रका १० कम्पनीमध्ये चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई कम्पनीमात्र खुद नोक्सानीमा देखिएका छन् । सोनापुर मिनरल्स र घोराही सिमेन्ट यस अवधिसम्म खुद नोक्सानीमा रहेको उनीहरूले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणले देखाएको छ ।
पछिल्लो वित्तीय विवरणअनुसार सोनापुर मिनरल्स ७ करोड ५९ लाख रुपैयाँभन्दा धेरै र घोराही सिमेन्ट ५५ करोड ४३ लाख रुपैयाँभन्दा धेरै खुद नोक्सानी छ । पोहोरको यसै अवधिको तुलनामा भने यी दुवै कम्पनीले खुद नोक्सानी घटाएका छन् । सोनापुर मिनरल्सले करीब ७३ प्रतिशत र घोराही सिमेन्टले करीब १४ प्रतिशत खुद नोक्सानी घटाएको छ । गतवर्ष तेस्रो त्रैमाससम्म सोनापुर मिनरल्स २७ करोड ८० लाख रुपैयाँभन्दा धेरै र घोराही सिमेन्ट ६४ करोड २५ लाख रुपैयाँभन्दा धेरै खुद नोक्सानीमा थियो ।
दुवै कम्पनीले सञ्चालनबाट हुने आम्दानी बढेकाले खुद नोक्सानी घटेको जानकारी दिएका छन् । घोराही सिमेन्टले गतवर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढी सञ्चालनबाट आम्दानी गरेकोमा यस वर्ष ३ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको हो । आगामी दिनमा सिमेन्टको बजार सकारात्मक बन्ने र विक्री बढ्ने सम्भावना औल्याउँदै घोराहीले अझै नोक्सानी कम हुने अपेक्षा गरेको छ । यो वर्ष तेस्रो त्रैमाससम्म प्रतिशेयर १२ रुपैयाँ १४ पैसा नोक्सानीमा रहेको घोराही सिमेन्टको प्रतिशेयर नेटवर्थ भने १९० रुपैयाँ ८० पैसा छ ।
सोनापुर मिनरल्सले पनि यस वर्ष आम्दानी बढाएकाले खुद नोक्सानी कम भएको बताएको छ । गतवर्षको तेस्रो त्रैमाससम्म १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी रहेको कम्पनीको उक्त आम्दानी यस वर्ष १ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी छ । कोइला र इन्धनको मूल्यमा भएको अत्यधिक वृद्धि, भौतिक विकास निर्माणमा खर्च हुने बजेट कम हुनु र आर्थिक मन्दीका कारण घरेलु खपत न्यून हुँदा उत्पादित वस्तुले उचित मूल्य नपाएको कम्पनीको भनाइ छ । लगानीकर्तालाई प्रिमियम मूल्यमा शेयर विक्री गरेको सोनापुर मिनरल्स वार्षिक ३ रुपैयाँ २९ पैसा प्रतिशेयर नोक्सानीमा छ । यसको प्रतिशेयर नेटवर्थ भने १८५ रुपैयाँ ८६ पैसा छ ।
उत्पादन तथा प्रशोधन क्षेत्रका पाँच कम्पनीले भने खुद नाफा गतवर्षको यसै अवधिको तुलनामा बढाएका छन् । तीनओटाले घटाएका छन् । सर्वोत्तम सिमेन्टले यस वर्ष सबैभन्दा बढी ३९९ दशमलव ३३ प्रतिशतले खुद नाफा बढाउँदा हिमालयन डिस्टिलरीले २५१ दशमलव ३२ प्रतिशत, नेपाल ल्युब आयलले १०१ दशमलव २५ प्रतिशत, शिवम् सिमेन्टले ९६ प्रतिशतभन्दा बढी र ओम मेगाश्री फर्मास्युटिकल्सले ८३ प्रतिशतभन्दा धेरैले खुद नाफा बढाएका छन् । पोहोरको तुलनामा बोटलर्स नेपाल बालाजुले ७३ दशमलव ३२ र बोटलर्स नेपाल तराईले ६९ दशमलव ११ प्रतिशतले खुद नाफा घटाएका छन् । युनिलिभर नेपालको खुद नाफा यो वर्ष शून्य दशमलव ८० प्रतिशत घटेको छ ।
नेपालमा पहिलोपटक बुक बिल्डिङ विधिमार्फत शेयर बेचेको सर्वोत्तम सिमेन्टले पोहोरको तुलनामा ३९९ दशमलव ३३ प्रतिशतले खुद नाफा बढाएको छ ।
यस वर्षको तेस्रो त्रैमाससम्ममा सर्वोत्तमको नाफा ६० करोड ३० लाख रुपैयाँभन्दा माथि पुगेको छ । गतवर्षको यो रकम १२ करोड ७ लाख रुपैयाँभन्दा धेरै थियो ।
यस वर्ष ९ महीनामा सर्वोत्तमले सञ्चालनबाट ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ, जुन गतवर्ष ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी थियो । सर्वोत्तम तेस्रो त्रैमाससम्म १६ रुपैयाँ १६ पैसा प्रतिशेयर आम्दानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ९३ पैसा छ ।
धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमध्येकै सर्वाधिक शेयरमूल्य रहेको युनिलिभर नेपालले तेस्रो त्रैमाससम्म ४८ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । जेठ ७ गते युनिलिभर नेपालको शेयरमूल्य प्रतिकित्ता ४८ हजार ९८ रुपैयाँ कायम भएको छ ।