काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
त्यसअघि आजै बसेको गभर्नर सिफारिस समिति बैठकले पौडेलसहित नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले समितिले सिफारिस गरेका व्यक्तिमध्येबाट पौडेललाई राष्ट्र बैंकको नेतृत्वको जिम्मेवारी दिएको हो ।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लाग्दा गत चैत १० गते सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो, जसमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य थिए ।
पछि उक्त समितिबाट भट्टराई र पौडेलले राजीनामा दिए । त्यसपछि सरकारले भट्टराईको स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारी र पौडेलको स्थानमा डा. पोषराज पाण्डेलाई सदस्यमा नियुक्त गरेको हो ।