काठमाडौं । केही दिनयता वर्षा भई नदीहरूमा जलसतह बढ्दा तीन नदीहरूमा सञ्चालित जलविद्युत् आयोजनाहरूको उत्पादन बढेको छ । उत्पादन बढेपछि नेपालले भारत बिजुली निर्यात गर्न थालेको छ । आन्तरिक खपतको तुलनामा उत्पादन बढेकाले नेपाल विद्युत् प्राधकिरणले शनिवार रातिबाट भारतमा बिजुली निर्यात गर्न थालेको हो ।
बिहान र रातिको समयमा बढी भएको बिजुली निर्यात गर्न थालिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । उनका अनुसार शनिवार राति १२ बजेदेखि प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी मूल्यमा बिजुली बेच्न शुरू गरेको हो । निर्यात शुरू गरिए पनि दिउँसोको समयमा भारतबाट बिजुली आयात जारी रहेको उनले जानकारी दिए । ‘राति र बिहानको समयमा आन्तरिक खपत कम हुने भएकाले त्यसबेला निर्यात गरिएको छ तर दिउँसोको समयमा खपत बढी हुँदा आयात पनि जारी राखेका छौं,’ उनले भने ।
- शनिवार २०० मेगावाट, आइतवार १५० मेगावाट र सोमवार १७० मेगावाट निर्यात
- दिउँसोको समयमा भारतबाट आयात पनि जारी रहेको प्राधिकरणको भनाइ
- केही दिनयता परेको पानीका कारण नदीहरूमा जलसतह बढ्दा बिजुली उत्पादन बढ्यो
अब विस्तारै उत्पादन बढ्दै गएमा आयात रोकेर निर्यात मात्रै गर्न सकिने शाक्यले बताए । प्राधिकरणका अनुसार अहिले आन्तरिक विद्युत् उत्पादन १ हजार ५०० मेगावाटसम्म छ । पिक आवर (साँझको समय)मा आन्तरिक खपत करीब २ हजार मेगावाटसम्म छ । शनिवार राति २०० मेगावाट, आइतवार १५० मेगावाट र सोमवार १७० मेगावाट बिजुली भारतमा बेचिएको प्राधिकरणले बताएको छ ।
यस वर्ष अझै मनसुन शुरू भइसेकेको छैन । तर, हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावले वर्षा भइरहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा हुँदा नदी तथा खोलामा पानीको बहाब बढ्न गई विद्युत् उत्पादनमा वृद्धि भइरहेको प्राधिकरणले बताएको छ । नेपालले भारतको इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । शुरूमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताका रूपमा पनि प्रवेश पाएको थियो । पछिल्ला वर्षहरूमा नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा बिजुली विक्री गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।
गतवर्ष असोज १७ मा भएको नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार आगामी जुन १५ देखि बंगलादेशमा पनि दैनिक ४० मेगावाट बिजुली बेच्ने योजना रहेको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले बताए । तर, बंगलादेश र भारतबीचको सम्बन्ध चिसिएकाले बंगलादेशमा नेपालबाट बिजुली निर्यात गर्ने विषयमा अनिश्चितता बढेको प्राधिकरण अधिकारीहरू बताउँछन् । शिल्पकार भने मनसुन शुरू भएर विद्युत् उत्पादन वृद्धि भएपछि गतवर्ष भएको सम्झौताअनुरूप बंगलादेशमा बिजुली निर्यात थाल्ने प्राधिकरणको तयारी रहेको बताउँछन् ।