काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत होटेल तथा पर्यटन क्षेत्रका अधिकांश कम्पनी चालू आर्थिक वर्ष (आव) २०८१/८२ को तेस्रो त्रैमाससम्म नाफामा छन् । सूचीकृत ६ कम्पनीमध्ये पाँचओटा खुद नाफामा रहेको उनीहरूको वित्तीय विवरणले देखाएको छ ।
तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सिटी होटेलबाहेक होटेल तथा पर्यटन क्षेत्रका सबै कम्पनी खुद नाफामा छन् । कालिञ्चोक दर्शन, सोल्टी होटेल, तारागाउँ रिजेन्सी होटेल, चन्द्रागिरि हिल्स र ओरियन्टल होटेल्स नाफामा छन् भने सिटी होटेल निरन्तर घाटामा छ ।
गतवर्ष १५ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको सिटी होटेल यस वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड ३८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी रकम १३ दशमलव शून्य ८ प्रतिशतले बढेको छ । यस वर्षको ९ महीनामा होटेल सञ्चालनबाट हुने कुल आम्दानी घट्दा सिटी होटेलको खुद नोक्सानी बढ्न गएको देखिन्छ । गतवर्ष ४२ करोड ७ लाख रुपैयाँभन्दा बढी रहेको सिटी होटेलको कुल आम्दानी यस वर्ष ३७ करोड ५४ लाख रुपैयाँमा खुम्चिएको छ । तर, यसको कुल खर्च बढेको छ ।
गतवर्ष २८ करोड २२ लाख रुपैयाँभन्दा धेरै रहेको सिटीको कुल खर्च यस वर्ष २८ करोड २६ लाख रुपैयाँभन्दा धेरै छ । सिटी होटेलका सञ्चालक तिलक कोइरालाले कम्पनीले बैंक ऋणका कारण नाफा गर्न नसकेको बताए ।
उनका अनुसार ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी कर्जामा रहेको कम्पनीले नोक्सानी घटाउन आवश्यक रणनीति तय गरेर अघि बढेको छ । त्यसैगरी बढ्दो प्रतिस्पर्धाको असर पनि होटेलको नाफामा परेको उनको भनाइ छ । ‘उपत्यकाभित्रै विभिन्न ब्रान्डका होटेलहरू खुल्ने क्रम जारी रहेकाले पनि सिटी होटेलको आम्दानीमा प्रभाव परेको हो,’ कोइरालाले भने । ‘पछिल्लो त्रैमासमा काठमाडौं उपत्यकामा भएका विभिन्न आन्दोलनले पनि होटेल व्यवसायमा असर गर्यो ।’
तेस्रो त्रैमाससम्ममा सोल्टी होटेलको खुद नाफा सबैभन्दा बढी छ । यस अवधिसम्म सोल्टी होटेलले ४६ करोड ७३ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । गतवर्षको यस अवधिसम्मको तुलनामा यस वर्ष सोल्टीको खुद नाफा १३ दशमलव ३६ प्रतिशत बढी छ । यस वर्षको तेस्रो त्रैमाससम्ममा सोल्टीको कुल आम्दानी १ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी छ । गतवर्ष यस अवधिसम्म सोल्टीको आम्दानी १ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी मात्र थियो ।
त्यसैगरी, तारागाउँ रिजेन्सी होटेलको नाफा गतवर्षभन्दा १ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ भने चन्द्रागिरि हिल्सको नाफामा करीब १ प्रतिशत वृद्धि देखिएको छ । ओरियन्टल होटेल्सको खुद मुनाफा यस वर्षको पहिलो ९ महीनामा ३२ दशमलव १६ प्रतिशतले घटेको छ । तैपनि कम्पनी नाफामै छ । कालिञ्चोक दर्शनको खुद नाफा २५ दशमलव २७ प्रतिशतले घटेर १ करोड ८९ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।