काठमाडौं । चालू आर्थिक वर्ष (आव)को १० महीना (साउन–वैशाख)मा नेपालबाट हुने निर्यात ७२ प्रतिशत बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशत बढी हो ।
गत आवको शुरुका १० महीनामा नेपालबाट १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
समीक्षा अवधिमा आयात १३.११ प्रतिशतले बढेको छ । विभागको तथ्यांकअनुसार गत आवको १० महीनामा १३ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात भएकोमा यो आवको सोही अवधिमा १४ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा नेपाल भित्रिएको थियो ।
चालू आवको १० महीनामा नेपालको व्यापार घाटा भने ६.७२ प्रतिशतले बढेको छ । गत आवको १० महीनासम्म ११ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढी रहेको व्यापार घाटा यो आवको सोही अवधिसम्म बढेर १२ खर्ब ५६ अर्बभन्दा बढी पुगेको छ ।
समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १८.३७ प्रतिशतले बढेको छ । गत आवको १० महीनामा १४ खर्ब २९ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएकोमा यो आवमा बढेर १६ खर्ब ९२ अर्ब पुगेको छ ।
यो आवको १० महीनामा कुल व्यापारमा निर्यातको हिस्सा ४५.९१ बढेको छ भने आयातको हिस्सा ४.४४ प्रतिशत घटेको छ । कुल व्यापारमा निर्यातको हिस्सा गत आवको चैतसम्ममा ८.८३ प्रतिशत रहेकोमा यो आवको सोही अवधिसम्ममा बढेर १२.८८ प्रतिशत पुगेको छ ।
कुल व्यापारमा आयातको हिस्सा भने गत आवको १० महीनासम्ममा ९१.१७ प्रतिशत रहेकोमा यो आवको सोही अवधिसम्ममा ८७.१२ प्रतिशतमा झरेको छ ।
व्यापार सूचकको तुलना
व्यापार सूचक | गत आवको १० महीना | यो आवको १० महीना | परिवर्तन (%) |
आयात (रु हजारमा) | १३०३३५७०३९ | १४७४१८८२९७ | १३.११ |
निर्यात (रु हजारमा) | १२६१७३५४८ | २१७९११०५९ | ७२.७१ |
व्यापार घाटा (रु हजारमा) | ११७७१८३४९१ | १२५६२७७२३८ | ६.७२ |
कुल वैदेशिक व्यापार (रु हजारमा) | १४२९५३०५८७ | १६९२०९९३५७ | १८.३७ |
कुल व्यापारमा निर्यातको हिस्सा % | ८.८३ | १२.८८ | ४५.९१ |
कुल व्यापारमा आयातको हिस्सा (%) | ९१.१७ | ८७.१२ | -४.४४ |
स्रोत : भन्सार विभाग ।