धेरैजसो कम्पनीको शेयरमूल्य स्थिर
फागुन २९, काठमाडौं (अस) । शेयर बजार बढ्न नसकेपछि सोमवार धेरै कम्पनीको शेयरमूल्य स्थिर रह्यो । सो दिन व्यापारमा आएकामध्ये २८ कम्पनीको शेयर स्थिर मूल्यमा व्यापार भयो । आइतवार १८ कम्पनीको शेयर स्थिर मूल्यमा किनबेच भएका थिए । बजार बढिरहेको समयमा दैनिकजसो १०/११ कम्पनीका मात्र शेयरमूल्य स्थिर रहने गरेको थियो । सो दिन व्यापार खुलेको केही समय अघिल्लो दिन कायम भएको बिन्दुमाथि रहेको परिसूचक त्यसयता घट्ने क्रममा नै बजार बन्द भयो । नेप्से परिसूचक शून्य दशमलव ५ प्रतिशतले घटेर ३ सय १३ दशमलव ८३ मा बन्द भएको छ । सो दिन सात समूह व्यापारमा आए पनि होटल र बीमा समूहको परिसूचक मात्र बढेका छन् । यी समूहका परिसूचक क्रमशः शून्य दशमलव १३ र शून्य दशमलव १९ प्रतिशतले बढेका छन् । होटल समूहबाट व्यापारमा आएको एकमात्र कम्पनी तारा गाउँ रिजेन्सीको शेयरमूल्य रू. १ ले बढेको छ । बीमा समूहका लाइफ इन्स्योरेन्स कर्पाेरेशन र प्राइम लाइफको शेयरमूल्य बढेका छन् ।
‘अन्य’, बैङ्किङ, विकास बैङ्क, जलविद्युत्, वित्त कम्पनी समूहका परिसूचक क्रमशः शून्य दशमलव ६६, शून्य दशमलव ६५, शून्य दशमलव ३६, शून्य दशमलव १९ र शून्य दशमलव १८ ले घटेका छन् । उत्पादन तथा प्रशोधनमूलक समूहको परिसूचक भने स्थिर रह्यो । सोमवार व्यापार सङ्ख्या बढे पनि शेयर सङ्ख्या (१५%) र रकम परिचालन (३६%) घटेका छन् । व्यापारमा आएका कम्पनीको सङ्ख्या भने आइतवारकै बराबर रह्यो । यस दिन १ हजार ११ पटक भएको व्यापारबाट ८३ कम्पनीका ९० हजार २ सय ७९ भन्दा धेरै शेयर किनबेच भए । यसबाट रू.२ करोड ८ लाख ४७ हजारभन्दा धेरैको व्यापार भयो भने रू.२ खर्ब ९३ अर्बको कुल बजार पूँजीकरण भयो । व्यापारमा आएकामध्ये ३८ कम्पनीको शेयरमूल्य घट्यो, १७ कम्पनीको शेयरमूल्य बढ्यो । यस दिन शेयर सङ्ख्या र व्यापार रकमको आधारमा चिलिमे जलविद्युत् अग्रस्थानमा र≈यो । कम्पनीको ९ हजार ८ सय ९० शेयर किनबेच भएर रू.५८ लाख ५० हजार रकमको व्यापार भयो । गुराँस लाइफ इन्स्योरेन्सको १ सय १६ पटक व्यापार भएर यो सबैभन्दा अग्रस्थानमा रह्यो । यस दिन मितेरी डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै १ दशमलव ९६ प्रतिशतले बढ्यो भने शुभेच्छा विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ५७ प्रतिशतले घट्यो ।