काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा रू. ८ करोड ६८ लाख नोक्सानीमा छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनी रू. ४ करोड ६३ लाख नाफामा थियो । चालू आवमा कम्पनीको खर्चमा वृद्धि भएकाले नोक्सानीमा रहेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. ३ करोड ८१ लाख रहेकोमा चालू आवमा बढेर रू. ६ करोड ६ लाख पुगेको छ । त्यस्तै कम्पनीको आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको आम्दानी रू. १२ करोड १ लाख रहेकोमा चालू आवमा घटेर रू. ४० लाख ४१ हजारमा झरेको छ ।
चुक्ता पूँजी रू. ५० करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा रू. ७ करोड ८१ लाख ऋणात्मक छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७५ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ९० पैसा छ ।
कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको अपर हेवाखोला जलविद्युत अयाोजनामा गत असार २ गते आएको भिषण बाढीले व्यापक क्षति पुर्याएको र सोही मितिदेखि उत्पादन बन्द भएको थियो । यस अवधिसम्म आयोजनाको मर्मत तथा पुन:निर्माण कार्य तीव्र गतिमा भइरहेको र क्षतिग्रस्त विद्युत प्रसारण लाइनको मर्मत कार्य सम्पन्न भएको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।