काठमाडौं । यतिबेला सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँट गरी दुई कम्पनी धितोपत्र दोस्रो बजारमा थपिने तयारीमा छन् । गत चैत १२ गते नै आईपीओ बाँडफाँट गरेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड र वैशाख ११ गते आईपीओ बाँडफाँट गरेको पियोर इनर्जी चाडै धितोपत्र दोस्रो बजारमा थपिनेछन् । आईपीओ बाँडफाँटको एक महीना पुगेको ओम मेगाश्री फर्मास्यूटिकल्सले भने केही दिनभित्रै दोस्रो बजारमा शेयर सूचीकृत हुने बताएको छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सले संस्थापक तर्फको ४२ लाख कित्ता र सर्वसाधारण तर्फको १६ लाख ३८ हजार कित्ता गरी कुल ६० लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराउनेछ । वैशाख ११ गते आईपीओ बाँडफाँट गरेको पियोर इनर्जीको आईपीओ सूचीकरण पनि जतिसक्दो चाडो गर्ने कम्पनीले बताएको छ ।
पियोर इनर्जीको संस्थापक तर्फको ६४ लाख कित्ता र सर्वसाधारण तर्फको १६ लाख कित्ता गरी कुल ८० लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत हुनेछ । ओम मेगाश्री फर्मास्यूटिकल्स औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो ।
गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी ४ करोड १३ लाख ६ हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ३ करोड ७१ लाख ७६ हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्म सञ्चित नोक्सानी घटाएर १ करोड १३ लाख ५२ हजार रुपैयाँ कायम गर्ने प्रक्षेपण गरेको छ ।
पियोर इनर्जी कम्पनी भने सौर्य उर्जा उत्पादक कम्पनी हो । यस कम्पनीले दुई सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । १० मेगावाट क्षमताको सौर्य पि.भि विद्युत आयोजना ब्लक–१ बाट २०८० साल पुस ११ गतेदेखि र १० मेगावाट सौर्य पि.भि विद्युत आयोजना ब्लक –२ बाट २०८० वैशाख १८ गतेबाट व्यापारिक उत्पादन शुरू गरिएको हो ।
यो कम्पनी भने गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी २ करोड २६ लाख ९४ हजार रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको देखिन्छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी २ करोड ३ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षभित्र सञ्चित नोक्सानी सुधारेर १ करोड १४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीको छ ।
यी कम्पनीको पहिलो शेयर कारोबार कतिमा होला ?
धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि यी दुई कम्पनीको पहिलो कारोबारका लागि बजार सञ्चालकले मूल्य तोकिदिन्छ । प्राथमिक बजारमा यी कम्पनीको आईपीओ लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले खरीद गरेका छन् ।
दोस्रो बजारमा भने कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा बजार सञ्चालकले पहिलो कारोबार मूल्य तोक्ने गर्छ । हालको व्यवस्था बमोजिम कुनै पनि कम्पनीको आईपीओ सूचीकृतपछि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि तोक्ने गर्छ ।
यस आधारमा ओम मेगाश्री फर्मास्यूटिकल्सको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता ९० रुपैयाँ १७ पैसादेखि अधिकतम २७० रुपैयाँ ५१ पैसासम्मको र पियोर इनर्जीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता ९६ रुपैयाँ ४५ पैसादेखि अधिकतम २८९ रुपैयाँ ३५ पैसासम्मको रेञ्जमा तोकिने देखिन्छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको वास्तविक प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा र पियोर इनर्जीको वास्तविक प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४५ पैसा रहेको छ ।