काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
मेडिकल कलेजलाई सम्बन्धन दिन माग गरिएको मुद्दामा न्यायाधीशद्वय डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले सोमवार (आज) उक्त आदेश जारी गरेको हो ।
सर्वाेच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले ‘निवेदकको मागबमोजिम रिट जारी हुने’ आदेश भएको बताए । उक्त फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।
मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले २०७७ असार २१ गते राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ (६) को व्यवस्था बमोजिम सम्बन्धन पाऊँ भनी सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।
उक्त ऐनको दफा १३ (६) मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर, यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका वाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू हुने छैन । काठमाडौं उपत्यका वाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरेबमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन ।’
सरकारी आशयपत्रबमोजिम काम गरेको भए पनि कलेज सञ्चालन गर्न नपाएको भन्दै मेडिकल कलेज सञ्चालक प्रसाईंले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयसहित विभिन्न निकायलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका थिए।
उक्त रिट दर्तालगत्तै त्यसमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासले २०७७ असार २३ गते उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै ‘अन्तिम सुनुवाइ हुँदाका बखत निरूपण हुने विषय’ भनेर आदेश दिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।