चितवन । किसानको दूधको बक्यौता भुक्तानी दिने विषयमा सम्बन्धित निकायहरू स्पष्ट योजना वा समाधान दिन असमर्थ देखिएका छन् । चितवनको भरतपुरमा जारी ‘पहिलो राष्ट्रिय डेरी एक्स्पो’मा सहभागी दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीका प्रतिनिधिहरूले भुक्तानी दिने विषयमा अनभिज्ञता प्रकट गरेका हुन् । शनिवार एक्स्पोको दोस्रो दिनको छलफलमा सहभागी दुग्ध विकास संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले सरकारबाट ऋण अनुदान नलिई किसानको पैसा तिर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हामीले सरकारबाट ऋण पाए वा स्टक विदेश तथा स्वदेशमा विक्री गर्न सकेमात्र किसानलाई रकम भुक्तानी गर्न सक्नेछौं ।’
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल र नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले किसानको सबै बक्यौता भुक्तानी दिन अहिले सम्भव नभएको बताए । यो समस्या नतिर्ने नियतभन्दा पनि दुग्ध पदार्थको स्टक विक्री गर्न नसक्दा आएको उनको भनाइ छ । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार किसानले दुग्ध विकास संस्थान र निजी डेरी उद्योगीहरूबाट झन्डै साढे दुई अर्ब रुपैयाँ पाउन बाँकी छ ।
छलफलमा सहभागी किसानहरूले दूधको नियमित भुक्तानी नपाउनुमा नेतृत्वमा रहेका र नीति निर्माणमा भएकाकै कमजोरी मुख्य कारण रहेको गुनासो गरे । किसान प्रदीप तिमल्सिनाले भारतबाट नेपालका उद्योगीले लुकाएर ल्याउने पाउडर दूध तथा दुग्ध पदार्थका कारण नेपालमा समस्या उत्पन्न भएको टिप्पणी गरे । ‘भारतबाट पाउडर दूध ल्याउन रोक लगाइयो भने नेपालमा मिल्क होलिडे हुने थिएन र किसानले नियमित पैसा पनि पाउँथे,’ उनले भने ।
चितवनको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले उद्योगीहरूले पैसा नदिएपछि सहकारीले बैंकबाट ऋण लिएर किसानलाई भुक्तानी गर्नुपर्ने बाध्यता भएको बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले किसानको भुक्तानीका लागि समन्वय र सहकार्य गर्दै आएको बताए । प्रविधिको प्रयोगसँगै उत्पादन बढाउन बोर्ड सक्रिय रहेको उनको भनाइ छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले किसानको कम लगानीमा धेरै उत्पादन हुने स्थिति निर्माणका लागि काम भइरहेको भन्दै पशु बीमाको समस्या समाधानका लागि विभागले पहल गर्ने आश्वासन दिए ।
‘डेरीमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’
नारासहित चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा सञ्चालित एक्स्पो आइतवार सकिएको छ । प्रदर्शनीमा डेरी तथा पशु आहार उद्योगका लागि आवश्यक मेसिनरी तथा उपकरण, डेरी सफ्टवेयर, विभिन्न दुग्ध उत्पादन, दुग्ध सहकारी, पशुपालनका सामग्री, औषधि र डेरी प्याकेजिङ उद्योगका करीब सयओटा स्टल राखिएका थिए । स्थानीय उत्पादन प्रवर्द्धन, दुग्ध व्यवसायका समस्या समाधान र दुग्ध पदार्थको बजार विस्तारमा सहयोग पुर्याउनु प्रदर्शनीको उद्देश्य रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।